बिर्तामोड । 

झापाको बिर्तामोड १ मा सञ्चालित चिल्ड्रेन इम्भारोमेन्ट स्कूलले सीइएस यात्रा २०८१ अन्तरगत वार्षिकोत्सव मनाएको छ । विद्यालयले शुक्रवार विद्यालय परिसरमा विभिन्न कार्यक्रम सहित २१ औं वार्षिकोत्सव मनाएको हो ।

बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारीको प्रमुख आतिथ्य तथा विद्यालयकी बाल क्लव अध्यक्ष आकृति खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो । सोही कार्यक्रममा शैक्षिक सत्र २०८० मा उत्कृष्ठ नतिजा ल्याउने कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुलाई आइओएस मान्यता प्राप्त प्रशंसापत्र सहित सम्मान गरिएको थियो । 

विद्यार्थीहरुलाई साहित्य,चित्रकला, संगीत, नृत्य , नाटक जस्ता अतिरिक्त क्रियाकलाव गराउन शिक्षकको व्यवस्था गर्दै पठन पाठन गराउने झापाको पहिलो विद्यालयले दावी गरेको छ । 

अतिरिक्त क्रियाकलाव शिक्षक तथा सञ्चारकर्मी लीला अनमोलले उद्घाटन सत्रको कार्यक्रम सञ्चालन गरेकी थिइन् । त्यस्तै कक्षा १० मा अध्ययनरत विद्यार्थी खुशी राईले स्वागत गरेको कार्यक्रमको संचालन कक्षा ७ का विद्यार्थी प्रयुष आले र कक्षा ९ मा अध्ययनरत छात्रा अब्नी लाम्गादेले गरेका थिए । 

वार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यार्थीहरुले गायन, नृत्य, कविता वाचन, नाटक, स्पिच सहितका गतिविधि गरेका थिए । कक्षा नर्सरीदेखि १० सम्म पठनपाठन हुने सो विद्यालयमा ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र शिक्षक तथा कर्मचारी गरेर ७५ जना कार्यरत रहेका विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाले जानकारी दिए । 

कार्यक्रममा एमइटी कलेजका संस्थापक प्रिन्सिपल आरएस ढकाल, आइएसओ २००१ : २०१८ का प्रशिक्षक तथा विशेषज्ञ शैलेन्द्र कुमार खरेल, विर्तामोड १ कि महिला वडा सदस्य कमला महतरा लगायतको आतिथ्य रहेको थियो ।