छोरा, आज पढन किन नगाको ?

प्रजातन्त्र दिवस रे आज बा 

प्रजातन्त्र भनेको के हो बा ?

खिल पल्टेका, पटपट फुटेका पैतालाहरुको 

आलो घाउ अझ बढी रहेछ ।  

पराले फुसको छानोको जुइनो खुस्की रहेछ 

चुल्होमा धिपधिप आगो जली रहेछ । 

खोइ, कसरी बुझाउ कान्छा प्रजातन्त तिमीलाइ ?

छोरा खोज्न पर्देसिएकी तिम्री आमा 

आज पनि उता, गगनचुम्बी महलहरु बीचका सागुरा गल्लीहरुमा 

अनि सामुद्रीक तटका छालहरुमा छोरा खोजी रहेछिन ।  

यता गैरीगाउका सन्ते जेठाले सन्सार छोडदा 

दुई, चार दिनसम्म लास उठन सकेन ।  

दुई, चार जना जुटन सकेन 

भुइँ मान्छेको मुल फुटन सकेन ।

मालिकको ढिकुटी सुक्न सकेन 

शायद यही हो प्रजातन्त्र कान्छा 

त्यसो भए के गर्ने त बा ?

मैले त केही बुझिन तिम्ले भनेको 

दुई लेन, चार लेन, छ लेन । 

अनि आठ लेनका कालोपत्रे सडकहरु बने पनि 

ट्रीपर, ट्रक, रङ्गीबिरङ्गी बसहरु 

एसी कारहरुको कब्जामा सडक परेपछि 

बगरमा ढुङ्गा र गिटी कुटने पैदल  यात्रीहरु 

बगर मै हराएपछि 

अब यी हातहरु फलाम बनेर उठनु पर्छ 

बस्तीहरु आगो बोकेर उठनु पर्छ 

भुइँ मान्छेको मुल फुटनु पर्छ 

दार्चुलामा चोट लाग्दा झापा रुनु पर्छ 

अनि मनाउला प्रजातन्त्र दिवस 

मादल, सारङ्गी, पन्चे बाजा, खैजडी बजएर 

हुदैन र ?