दुर्गापुर ।
झापाको कनकाई–७ दुर्गापुरमा रहेको फक्ताङलुङ एजुकेशन फाउण्डेसनले आज (बुधवार) शैक्षिक महोत्ससहित वार्षिकोत्सव मनाएको छ । फाउण्डेशनले महोत्सव–२०८१ सहित विभिन्न सांस्कृतिक कार्यक्रम गरी १५ औं वार्षिकोत्सव मनाएको हो ।
विद्यालयका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बूले गरेका थिए । विद्यालयमा स्थापना गरिएको फक्ताङलुङ संग्रहालयको उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि तथा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि साँवा, बिशिष्ठ अतिथि पोखरेल नगर उप–प्रमुख आशा शर्मा शिवाकोटीले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर ब्यवहारिक र व्यावसायिक शिक्षा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ, कनकाई–७ का वडाध्यक्ष भीष्मभूषण सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयकी शिक्षिका संगीता लिम्बूले स्वागत गरेको कार्यक्रममा नगरबाल कल्याण अधिकारी उमानाथ ढकाल, इष्ट होराइन इंग्लिस स्कूलका प्रिन्सिपल सञ्जय राई, मर्निङ ग्लोरिका प्रिन्सिपल अशोक न्यौपानले लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल ओमविक्रम नेम्वाङले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । छ जना ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रममा विद्यार्थीले स्पीच, नृत्य, गीन, मार्सल आट शो लगायतका प्रस्तुति दिएका थिए ।
महोत्सवमा विद्यार्थीहरुद्वारा निर्मित विज्ञान तथा रोबर्टिस वस्तुको प्रदर्शनी, विभिन्न पौराणिक तथा सांस्कृतिक सामग्रीको बिक्री तथा प्रदर्शनी, चित्रकलाको प्रदर्शनी, विद्यार्थीले नै उत्पादन गरेका कृषि सामग्रीको प्रदर्शनी गरिएको थियो । महोत्सवमा सहभागीले विभिन्न मनोरञ्जनात्मक खेलको मज्जा समेत लिएका थिए ।कार्यक्रमको सञ्चालन शिक्षक सिर्जना लिम्बू, एन्जल पोखरेल र विद्यार्थी ओसन लिम्बू तथा कुसुम ढुंगानाले संयुक्त रुपमा गरेका थिए ।
सन् २०२२ मा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त फक्ताङलुङ एजुकेशन फाण्डेशनमा गत सरस्वती पूजामा ४२ जना विद्यार्थी भर्ना भएका छन् । आगामी शैक्षिक सत्र २०८२ देखि काठमाडौंको युनिभर्सल कलेजसँगको सहकार्यमा नयाँ प्रविधिबाट शिक्षण सिकाइ हुने विद्यालयका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिए ।