विराटनगर ।
नेकपा (माओवादी केन्द्र) ले फागुन १२ गतेदेखि तराई मधेस जनता जागरण अभियानको शुरु गर्दैछ । तराई–मधेसका २१ जिल्लालाई ‘टार्गेट’ गरेर चलाइने अभियान झापाको कचनकवलबाट फागुन १२ गतेबाट शुरु गरिनेछ । अभियानमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू सहभागीको सहभागीता हुनेछन् । यो अभियान एक महिनामा सकिने र पुनः मध्यपहाडी लोकमार्ग लक्षित अभियान शुरु गरिने अध्यक्ष प्रचण्डले बताएका छन् ।
विराटनगरमा शनिबार कोशी प्रदेश परिषद बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पार्टीको बढी जोड तराई मधेसका २१ जिल्लामा हुने बताएका छन् । अभियानको अलि बढी जोड दक्षिणतिरै दिने पार्टीको लक्ष्य छ । पहाडतिर भइनै रहेको र मधेसी समुदायलाई केन्द्रित गरेर अभियानलाई जोड दिइने उनले बताए । मधेस प्रदेशमा झन् बढी केन्द्रित गरेर जाने सोच रहेको उनको भनाई थियो ।
तराई मधेसमा २१ जिल्लाको अभियान लगातार गर्न नसकिने हुनसक्ने भएकाले त्यस्तो अवस्थामा एक महिनासम्ममा अभियान सक्ने र त्यसपछि पुनः सुदूरपश्चिमबाट मध्यपहाडी लोकमार्ग लक्षित कार्यक्रम गर्ने प्रचण्डले बताए ।
लगातार अभियान चलाएर काठमाडौँमा लाखौँ मानिस उतार्ने लक्ष्य रहेको प्रचण्डको भनाइ छ । त्यसपछि फेरि सुदूरपश्चिमबाट मध्यपहाडी लोकमार्ग लक्षित कार्यक्रम गरेर अर्को अभियान चलाउने उनले बताएका छन्। अभियानको अन्तिम संश्लेषण काठमाडौँमा गर्ने र त्यसका लागि ठाउँ–ठाउँबाट प्रदेश–प्रदेशबाट सबै जातजाति, भेषभुषा, नाचगानसहित सबैको केन्द्रीकृत अभियान लाखौँ जनतालाई उतारेर काठमाडौँमा गरिने उनले बताएका छन् । ‘त्यसले देशव्यापी र विश्वव्यापी सन्देश पनि माओवादी जाग्यो भन्ने जान्छ ।’ प्रचण्डले भने । काठमाडौँमा देशभरका सबै जातजाति, भाषा, भाषी धर्मसंस्कृतिको भावनाहरू समेट्ने उनी बताउँछन् ।
माओवादीको पुस २१ गतेदेखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले अभियान चलाउने निर्णय गरेको थियो । उक्त अभियान जनतातिर फर्किने खालको हुने माओवादीको दाबी छ । प्रचण्डले उक्त अभियान यसअघि एमालेले चलाएको मध्यपहाडी राजमार्ग लक्षित अभियानजस्तो नहुने बताए । ‘आमसभा गर्ने हिँड्ने खालको हाम्रो अभियान होइन । यो केपी ओलीले गरेजस्तो हुँदैन । हाम्रो अभियान जनतासँग जोडिने खालको हुन्छ,’ प्रचण्डले भने, ‘एउटा जिल्लामा एक दिनको समय दिने ।’
अभियानको क्रममा बिहान चिया खाने बेलामा पनि जनतासँगै खाने । त्यहाँ पनि संवाद गर्ने । खाजा खाँदा पनि बुद्धिजीवीहरूसँग संवाद अन्तरक्रिया गर्ने । पार्टीका अगुवाहरूसँग प्रशिक्षण र पार्टीको लेखाजोखा गर्ने, पत्रकारहरूसँग भेटघाट गर्ने, सहिद परिवारसँग पनि भेटघाट गर्ने खालको कार्यक्रम बनेको छ । त्यस अभियानलाई देशव्यापी प्रचार गर्न माओवादीले आफ्ना निकटका पत्रकारको टोली पनि केन्द्रबाटै परिचालन गर्ने भएको छ ।