अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिका–५ स्थित देवभूमि विद्यापीठ इंग्लिस बोर्डिङ स्कूलले १७ औं वार्षिकोत्सव मनाएको छ । आज (शुक्रवार) स्कूलले विविध कार्यक्रम गरी आफ्नो १७ औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सामाजिक अभियन्ता गणेश ढुंगाना र स्कूलबाट २०८० को एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी प्रज्वल संग्रौलालाई सम्मान गरेको छ ।

 सामाजिक अभियन्ता ढुंगाना स्वच्छ समाजका लागि सामाजिक अभियान नेपालका संस्थापक अध्यक्ष हुन् । उनले सडकमा फ्याँकिएका प्लास्टिक, फोहोरमैला संकलन गर्दै स्वच्छ वातावरण निर्माणमा लागेका छन् । ढुंगानाले अनाथ बालबालिकाका लागि अर्जुनधारा–११ मा प्राप्त जग्गामा भवन निर्माणका लागि सहयोग संकलन गरिरहेका छन् । उनको अभियानलाई सहयोग पु¥याउन स्कूलका संस्थापक सुमन शर्मा जमरकट्टेलले पाँच हजार रुपैयाँ सहयोग दिने घोषणासमेत गरेका छन् । 

कार्यक्रममा प्रमुख अतिथि प्याब्सन झापा अध्यक्ष छत्र कार्कीले स्कूलले विद्यार्थीलाई शिक्षा दिने भए पनि घर र अभिभावकबाट असल संस्कार पाउने भएकाले अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले किताबी ज्ञानले मात्र विद्यार्थीको स्तरोन्नती नहुने बताउँदै अतिरिक्त क्रियाकलापसँगै जीवनोपयोगी शिक्षा आवश्यक रहेको औंल्याए ।

संस्थापक जमरकट्टेलले स्कूलको आगामी योजनाबारे जानकारी दिँदै चाँडै क्रिकेट खेल मैदान, एआई तालिम, होटल म्यानेजमेन्ट र आईटी सम्बन्धी कक्षा सञ्चालनको तयारी भइरहेको बताए । अभिभावक निर्मला मिश्र लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यार्थीहरुले स्पीच, नृत्य, गायन, नाटक, कविता, मार्सलआर्ट शो, ¥याम्प वाक लगायतका प्रस्तुती दिएका थिए । संस्थापक जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रिंन्सिपल सन्तोष पौडेलले गरेका थिए भने सञ्चालन विद्यार्थी अपेक्षा मिश्रले गरेकी थिइन् । 

नर्सरीदेखि कक्षा–१० सम्म अध्यापन हुने देवभूमिमा ५ सय ५० विद्यार्थी अध्ययनरत छन् भने ४० जना शिक्षक–कर्मचारी रहेको स्कूलका शिक्षक समिर नेपालले जानकारी दिए ।