झापा । 

अखिल नेपाल महिला संघ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित भएकी छन्। अनेम संघ झापाको शनिबार सुरु भएको १०औं जिल्ला सम्मेलन अन्तर्गत आइतवार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भएपछि सर्वसम्मत भएको हो।

कमिटीको उपाध्यक्षमा रेणुका उप्रेती डाँगी र सिता ढुङ्गाना विश्वकर्मा, सचिवमा कल्पना चम्लागाईं (कोपिला), सह–सचिवमा ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका संयोजक हेमकला कट्टेलका अनुसार सदस्य पदमा ७५ जनाको विभिन्न क्लस्टरबाट चयन गरिनेछ। कमिटीको सदस्यमा हलबाट ८ जना, पालिका भूगोलबाट ४९ जना, समावेशी क्लस्टरहरुबाट १८ जना निर्वाचित हुनेछन् ।

आइतवार पदाधिकारीहरु सर्वसम्मत चयन भएका र सदस्यहरुको लागि आवश्यक संख्यामा केही थप घट मनोनयन परेकाले अध्यक्ष मण्डलसँगको परामर्शमा निर्णय गरी अन्तिम नामावलीको घोषणा माघ २९ गते जिल्ला पार्टी कार्यालयमा हुने संयोजक कट्टेलको भनाई छ । सोही दिन दिउँसो शपथ ग्रहण र निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने कार्यक्रम तय भएको छ।