बिर्तामोड ।
अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको १० औं जिल्ला सम्मेलनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । शनिवारदेखि बिर्तामोडस्थित अग्रसेन भवनमा शुरु भएको जिल्ला सम्मेलनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि अनेमसंघ केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले पूर्वअध्यक्षहरुलाई सम्मानपत्र प्रदान गरेकी हुन् । सम्मानित हुनेहरुमा टिका बस्नेत, जसमाया गजमेर, पवित्रा निरौला खरेल, मेनुका काफ्ले, शोभा कुँवर, शारदा सापकोटा, विष्णु बराल, सिता बस्नेत, सुमित्रा भण्डारी रहेका छन् । महिला मुक्ति आन्दोलनलाई अनेमसंघको माध्यमबाट यहाँसम्म ल्याउन गरेको योगदानलाई उच्च मुल्याङकन गर्दै सम्मान गरिएको आयोजक कमिटीले जनाएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि हमाल, अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, कोशी प्रदेश राज्यमन्त्री सिर्जना राई, अनेमसंघ केन्द्रीय सचिव, कोशी प्रदेश इञ्चार्ज विणादेवी राई, मेचीनगर उपप्रमुख मिना उप्रेती, पूर्व अध्यक्ष जसमाया गजमेर, टिका बस्नेत लगायतले सम्बोधन गरेका थिए ।
जिल्लाभरबाट ३२४ प्रतिनिधिहरु सहभागी भएको १० औं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । आज (आइतवार) विहानबाट बन्दशत्रको कार्यक्रम सञ्चालन हुने सचिव लिला पौडेलले जानकारी दिइन् । उनका अनुसार केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरिएको छ । बन्दशत्रमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । अनेमसंघ झापाकी सचिव लिला पौडेलले सञ्चालन गरेको उद्घाटन शत्र जिल्ला अध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो ।