बिर्तामोड ।
पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी समिति सदस्य अग्नी खरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्नलाई असाध्यै गाह्रो भइरहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल झापाले आज (शुक्रवार) बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता बाहिर बस्दा प्रचण्डको छटपटी उदेकलाग्दो भएको बताएका हुन् । ‘सत्ता बाहिर बस्दा कति गाह्रो भएको रहेछ भन्ने पुष्टि प्रचण्डले भर्खरै संसद्मा बोलेरै गर्नुभएको छ’ नेता खरेलले भने ‘उहाँले अब सत्तामा जान पनि नसक्ने आफ्नै अभिव्यक्तिहरुबाट बताइरहनुभएको छ ।’
पत्रकार सम्मेलनमा नेता खरेलले प्रचण्ड सामाजिक एवम् राजनीतिक वातावरणलाई भाँडभैलो बनाउन क्रियाशिल रहेको आरोप लगाए।
उनले सरकारले आवश्यकताकै आधारमा अध्यादेश ल्याएको बताए। ‘सरकारले जनताको सुविधाको लागि ल्याएको अध्यादेश पास गरेर जान सक्छ’ उनले भने ‘संविधान बमोजिम अध्यादेश ल्याउन सकिन्छ ।’ संविधान नमान्नेहरुले मात्रै अध्यादेश ल्याउन नमिल्ने तर्क गर्न सक्ने उनको धारणा थियो ।
यस्तै, नेता खरेलले परिवार र समाजलाई ध्वस्त हुनबाट जोगाउन सामाजिक सञ्जाल विद्येयक आवश्यक भएको बताए। त्यसमा भएका व्यवस्थाहरु, सजाय र जरिवानाहरु छलफलबाट बढाउन वा घटाउन सकिने तर्क गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्बन फुकुवा बारे पत्रकारहरुको जिज्ञासामा जवाफ दिदैं उनले सभामुखको निर्णय ठिक भएको प्रतिक्रिया दिएका छन् । ‘सभामुखले नियम बमोजिम गर्नुभएको हो, उहाँहरु (रास्वपा) दवाव सिर्जना गरेर निलम्बन फुकुवा गर्न खोज्दै हुनुहुन्छ ।’ दवावको बाटो छोडर कानुनी बाटो रोज्नु उपर्युक्त हुने सूझावसमेत उनले दिए ।