झापा ।

पाथीभरा केवलकार निर्माणलाई लिएर उत्पन्न विवाद समाधानका लागि सोमबार बसेको वार्ता निष्कर्षविहीन बनेको छ ।मंगलवार पुनः बस्ने गरी स्थगित गरिएको हो ।

सरकार र ‘नो केवलकार’ पक्षबीच थप छलफल आवश्यक रहेको निष्कर्ष निकाल्दै वार्ता स्थगित गरिएको हो।सरकारी वार्ता टोलीका संयोजक एवं नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराईले वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताए। तर, केही विषयमा थप छलफल आवश्यक भएकाले मंगलबार बिहान ११ बजे पुनः वार्ता बस्ने निर्णय गरिएको उनले जानकारी दिए।

‘उहाँहरूले जारी केवलकार निर्माण कार्य रोक्न र काफ्लेपाटीबाट सुरक्षाकर्मी फिर्ता गर्न प्रस्ताव गर्नुभयो,’ भट्टराईले भने, ‘तर, हामीले जारी निर्माण कार्य रोक्न नसकिने स्पष्ट पा¥यौँ। बाँकी विषयमा भने थप छलफल गर्न सकिन्छ।’

प्रहरी नियन्त्रणमा रहेका ‘नो केवलकार’ पक्षधर कार्यकर्ताहरूको रिहाइका विषयमा सरकार सकारात्मक रहेको भट्टराईले बताए। अन्य विषयमा भने मंगलवार पुनः छलफल गरिने उनले स्पष्ट पारे। ‘नो केवलकार’ पक्षले सोमबार अपराह्न प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा वार्ता सहजीकरण समिति गठन गरेको हो । नेपाल सरकारले भने माघ १८ गते सहसचिव भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।

आन्दोलनरत पक्षका नवीन पोमूले केवलकार निर्माण कार्य रोकिने विषयमा सकारात्मक छलफल नभए आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएका छन्।