विर्तामोड ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले तोकिएको कार्यतालिका अनुसार नै नेपाल किसान महासंघको सबै तहको अधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस झापाका पदाधिकारी, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ÷नगर सभापति एवं नेपाल किसान संघका पदाधिकारी÷सदस्यहरुको संयुक्त भेलालाई सभापतिको आसनबाट सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् ।
किसान महासंघको सबै तहको अधिवेशन सम्पन्न गर्न सहयोगी भूमिका निर्वाह गर्न पनि पार्टीका सबै तहका सभापतिहरुलाई आग्रह गरे । भेलामा नेपाल किसान महासंघ झापाका अध्यक्ष रतन थिङ्लावोले आफू नेतृत्वको समिति गठन भएपश्चात संघले गरेका गतिविधिबारे प्रष्ट्याएका थिए ।
भेलामा नेपाली कांग्रेस झापाका उपसभापतिद्वय शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवद्वय कृष्ण हुमागाई र नवीन विमली, सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशी, नेपाल किसान महासंघ केन्द्रीय सदस्य झमक खड्का, झापा क्षेत्र नं–१ का क्षेत्रीय सभापति इन्द्र बुढाथोकी लगायतले धारणा राखे । नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनाली, लोकतान्त्रिक यातायात मजदुर संघका टंकप्रसाद दवाडी लगायतले आ–आफ्ना संस्थाको गतिविधिबारे प्रकाश पारे ।
नेपाल किसान महासंघ केन्द्रीय समितिले देशभरका वडाको अधिवेशन २०८१ माघ २१ गते, गाउँ÷नगर अधिवेशन माघ २५ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन माघ ३० गते र जिल्ला अधिवेशन फागुन ७ गते सम्पन्न गर्ने कार्यतालिका तय गरी पत्राचार गरिसकेको छ ।
नेपाली कांग्रेस झापाका सभापति थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहजीकरण सचिव नवीन विमलीले गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए।