झापा ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रेस युनियन झापाले आयोजना गरेको बार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम स्थल शिवसताक्षीस्थित दोमुखाबाट फर्कदै गर्दा नेता थापामाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा हातपात भएको थियो । 

 साधारण सभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा उनीमाथि हातपात भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।  उनले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जानकारी दिए । 

पूर्व मुख्यमन्त्री कार्यक्रममा सहभागी भएर निवास फर्किंदै  गर्दा बाटोमा हातपात भएको र ती व्यक्ति नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको जानकारी आएको छ साथै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको उनले बताएका छन् । पूर्व मुख्यमन्त्री थापाले आफू चढेको बा १ झ ६५३ नं को गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताए। 

आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ । विर्तासिटी हस्पिटलमा उपचारपछि उनी निवास फर्किसकेका छन् ।  प्रहरीले आक्रमण स्थलमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवारी साधनसमेत नियन्त्रणमा लिएको छ ।