भद्रपुर । 

नेपाली कांग्रेस भद्रपुर नगर समिति र कचनकबल गाउँ समितिको भेला आज सम्पन्न भएको छ । नेपाली कांग्रेसले गत असोज ७ गतेदेखि आगामी पौष १६सम्म सञ्चालन गरिरहेको विशेष अभियान अन्तरगत गाउँ÷नगरस्तरीय भेला सम्पन्न भएको हो ।

भद्रपुर नगर भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले नेपाली कांग्रेसले नेपालको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको चर्चा गरिन् । ब्यवस्था परिवर्तनका लागि भएका हरेक आन्दोलनहरुमा महिलाहरुले अग्रणी भूमिका खेलेको बताउँदै उहाँले राजनीतिमा महिलालाई पनि पुरुषसरह भूमिका दिन आग्रह गरिन् ।

कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले केन्द्रको निर्देशन बमोजिम विशेष सांगठनिक अभियान झापामा सफलतापूर्वक भइरहेको बताउँदै अभियान देशभर प्रभावकारी भए संगठन मजबुद हुने धारणा राखिन् । 

कार्यक्रमका विशेष अतिथि एवं कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाली कांग्रेस कोशी प्रदेशसमिति सदस्य उत्तम चम्लागाई, भद्रपुर नगरपालिकाका प्रमुख एवं भद्रपुरका लागि जिल्ला प्रतिनिधि गणेश पोखरेल, महासमिति सदस्य शर्मिला अधिकारी लगायतले शुभकामनाराखेकी थिइन् ।  नेपाली कांग्रेस भद्रपुर नगर समिति सभापति राम कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत पार्वती ओझा र सञ्चालन नन्द राजवंशीले गरेका थिए । 

यसैगरी नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस कचनकबल गाउँ समितिको भेला सम्पन्न भएको छ । भेलामा प्रमुख अतिथि थेवे, जिल्ला सह–सचिव एवं कचनकबल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, जिल्ला सदस्य रुद्रमणि दाहाल, जिल्ला सदस्य एवं नेपाल महिला संघ गाउँ अध्यक्ष सेलेतुन खातुन, महाधिवेशन प्रतिनिधि सिताराम खड्का, वडा सभापतिहरुको तर्फबाट छविलाल अधिकारी, लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

नेपाली कांग्रेस कचनकबलका गाउँ सभापति तुलाराम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत लालमोहन राजवंशी र सञ्चालन तिलक पौडेलले गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।