बिर्तामोड ।
टोल र वडा बलियो भएमात्रै पार्टी संगठन बलियो हुन्छ भन्ने नीति लिएको नेपाली कांग्रेसले थालेको एक सय दिने अभियान अन्तरगत झापाका ५० प्रतिशत बढी वडा समितिले वडा भेला सम्पन्न गरेका छन् ।
संगठनलाई चलायमान बनाउँदै सुदृढीकरण अभियान अन्तरगत तहगत बैठक, भेला, सम्मेलन, विविध रचनात्मक कार्यक्रमसहित असोज ७ गतेदेखि पौष १६ गतेसम्मका लागि कांग्रेसले सयदिने अभियान थालेको थियो । यस अभियान अन्तरगत नै ५० प्रतिशत बढी वडामा वडा भेला सम्पन्न भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन र नेपाली कांग्रेस झापाको यसअघि सम्पन्न बैठकको निर्णय बमोजिम झापाका १५ वटा पालिकाका सबैजसो वडाहरुमा वडाभेलाको तयारीका लागि टोल समिति एवं वडा समिति बैठक सम्पन्न भएको छ भने ५० प्रतिशत वडाले भेला पनि सम्पन्न गरेका छन् ।
यसैक्रममा आज नेपाली कांग्रेस दमक नगरसमिति अन्तरगतका ४ र ५, कमल–४, शिवसताक्षी–१, बुद्धशान्ति–३, भद्रपुर ४ र ८, कचनकबल–१, बाह्रदशी–७, विर्तामोड–६ मा वडास्तरीय भेला सम्पन्न भएका छन् ।
दमक वडा नं–५ मा आयोजित वडाभेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले वडातहको संगठन बलियो भएमात्रै पार्टी बलियो हुने बताउँदै वडातहमा जिल्ला प्रतिनिधिहरु खटाइएको जानकारी दिए।
नेपालमा भएका सबै परिवर्तनहरुमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै उनले जनजीविका, विकास निर्माण र समुदायको आवश्यकता बमोजिम सामाजिक कार्य गर्न सबैलाई आग्रह गरे ।
दमक–५ का वडा सभापति चैतन्य बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रतिनिधिहरु आइन्द्रविक्रम केरुङ, पर्शुराम रिजाललगायतले बोलेका थिए । भने सञ्चालन धर्म ढुङ्गानाले गरेको दमक नगर समिति सभापति प्रकाश प्रसाईले जानकारी दिए।
यसैगरी कचनकबल–१ को वडाभेला वडा सभापति छविलाल अधिकारीको सभापतित्व र गिताप्रसाद भट्टराईको प्रमुख आतिथ्य एवं गाउँ सभापति तुलाराम अधिकारीको विशेष आतिथ्यमा सम्पन्न भएको छ ।
यसैगरी बाह्रदशी–७ का वडासभापति नारायण लम्सालको सभापतित्वमा वडाभेला सम्पन्न भएको छ । महाधिवेशन प्रतिनिधि दयानन्द गोश्वामीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रामप्रसाद दुलाल, गाउँ सभापति इन्द्र बस्नेत लगायतले मन्तब्य राखेका थिए ।
यसैगरी शिवसताक्षी नगरपालिका वडा नं–१ को वडाभेला आज सम्पन्न भएको छ । वडासभापति नगेन्द्र बोहोराको सभापतित्व र महाधिवेशन प्रतिनिधि मचिन्द्र शेर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको नगर सभापति अशोक बस्नेतले जानकारी दिए।
यसैगरी कमल गाउँ समिति अन्तरगत वडा नं–४ को वडाभेला आज सम्पन्न भएको छ । विरभद्र पोखरेलको प्रमुख आतिथ्य एवं वडासभापति खेमराज खनालको सभापतित्वमा वडाभेला सम्पन्न भएको गाउँ सभापति खगेन भण्डारीले जानकारी दिए।
यसैगरी मेचीनगरको २, ८, ९, १०, १३ र १४, बुद्धशान्ति गाउँपालिकाको १, ३, ४ र अर्जुनधारा नगर समिति अन्तरगत १, ४, ९ र १० को वडाभेला सम्पन्न भएका छन् । यता विर्तामोड–६, भद्रपुर–२, ३, ४, ८, कचनकबलमा १, ४, ५, ६, बाह्रदशीको १, २, ५, ६ र ७, एवं शिवसताक्षीको १, २, ३, ४, ६,७, ८, ९, १० र ११ वडा समितिले वडा भेला सम्पन्न गरेका छन् ।
यसैगरी दमक नगर समिति अन्तरगत ३, ४, ५, ६, ९ र १० नम्बर वडा, गौरादहको २, ३, ४ नम्बर वडाको वडा भेला सम्पन्न भएको नेपाली कांग्रेस गाउँ÷नगर सभापतिहरुले जानकारी दिएका छन् ।