विराटनगर । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागले नेपाली कम्युनिष्ट आन्दोलनका सुरुवाती समयका व्यक्तिहरुको खोजी गरी इतिहास प्रकाशन गर्ने भएको छ । बिहीबार बिराटनगरमा भएको विभागको पहिलो बैठकले प्रदेशभरबाट ५० जना हाराहारी अगुवा राजनीतिक व्यक्तित्वहरुको इतिहास लेखन तथा प्रकाशन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको हो ।

कम्युनिष्ट पार्टी स्थापना पछि असहज अवस्थामा पार्टी निर्माण र समाज रुपान्तरणको आन्दोलनमा भूमिका निर्वाह गरेर योगदान गरेका तर पार्टी नेतृत्वमा नदेखिएका, राजकीय र लाभको पदमा कहिल्यै नगएका ‘गुमनाम’ योद्धाहरुको खोजी गरी दस्तावेज प्रकाशन गर्न लागिएको बैठक पछि विभागका प्रमुख लक्ष्मण तिवारीले जानकारी गराए ।

कोशी प्रदेशका प्रत्येक जिल्लाबाट न्यूनतम ३ जना त्यस्ता ज्येष्ठ अगुवाहरुको इतिहासको दस्तावेजीकरण गरी कम्तीमा ५० जना अग्रजहरुका इतिहास समेटिने गरी प्रचार विभागका उपप्रमुख भीमज्वाला राईको संयोजकत्वमा टिम निर्माण गरिएको हो । उक्त टिममा मोहनकाजी न्यौपाने, देवेन्द्र कार्की, सुमन पूरी, अविजाल विष्ट र हरिबोल आचार्यलाई सदस्य तोकिएको छ ।

 बैठकले यही मंसीर २८ गतेका लागि निर्धारित नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न प्रेस चौतारी नेपाललाई प्रभावकारी भूमिका खेल्न निर्देशन पनि गरेको छ । बैठकले श्रमजीवी पत्रकारहरुको हितका लागि निर्माण भएको गठबन्धनको नेतृत्वलाई जिताउन र साझा सहमतिका आधारमा जिल्लाहरुको बाँडफाँड तथा उमेद्वारहरुको टुंगो लगाउन चौतारीको कार्यदललाई सहयोग पुर्याउने पनि निर्णय गरिएको विभागका उपप्रमुख भीमज्वाला राईले जनाएका छन् ।

त्यस्तै पार्टी कोशी प्रदेशको मुखपत्र ‘रातो झण्डा’ प्रत्येक ६ महिनामा प्रकाशन गर्ने गरी प्रचार विभागका सचिव यज्ञ शर्माको संयोजकत्वमा सम्पादन मण्डलको गठन गरिएको छ । उक्त सम्पादन मण्डलमा गोपाल काफ्ले र देवेन्द्र कार्कीलाई सदस्य तोकिएको छ । उक्त बैठकले पार्टीको सन्देशहरु प्रवाह गर्न उपयुक्त सञ्चार माध्यम सञ्चालनको सम्भाव्यता अध्ययनका लागि प्रचार विभाग सदस्य मोहनकाजी न्यौपानेको संयोजकत्वमा सुमन पुरी, गोपाल काफ्ले, नेत्र पी अधिकारी र रेनुका राई सदस्य रहेको कार्यदल गठन गरेकोछ ।

यसैगरी बैठकले सबै जिल्लामा प्रेस चौतारी नेपाल, पार्टीको जिल्ला प्रचार विभाग र पार्टीको कामलाई प्रभावकारी बनाउने उद्देश्यले १४ वटै जिल्लाहरुमा फोकल पर्सनको जिम्मेवारी दिएको छ । सो प्रयोजनका लागि प्रचार विभाग सदस्य गोपाल काफ्लेलाई इलाम र पाँचथर जिल्ला तथा मोहनकाजी न्यौपानेलाई झापा र ताप्लेजुङको फेकल पर्सनको जिम्मेवारी तोकिएको छ । त्यस्तै प्रदेशमा रहेका सञ्चार गृहहरुलाई संरक्षण र व्यवस्थापन हेतुले प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष अविजाल विष्टको संयोजकत्वमा विवरण संकलन र सहयोग कार्यदल गठन गरेकोछ ।  

नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा भएको बैठकको अध्यक्षता प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले गरेका थिए । सो बैठकमा कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी, केन्द्रीय प्रचार विभाग सदस्य लीलाराज भट्टराई तथा प्रेस चौतारी कोशी प्रदेश इन्चार्ज गणेश पोखरेलको सहभागिता थियो ।