झापा ।
नेपाली सेनाको सहयोगमा सि.सं.१९ एनसीसी सिनियर डिभिजन तालिम लिइरहेका झापाका तीनवटा विद्यालयका विद्यार्थीहरुले अरिदमन गण चारआलीमा डेमोस्ट्रेशन गरेका छन् ।
झापा मोडेल स्कुल, धुलाबारी माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयका १०८ जना प्रशिक्षार्थीहरुले डेमोस्ट्रेसन गरेका हुन् । अरिदमन गणका सकलदर्जाहरुले तयार गरेको बाधापारको डेमोस्ट्रेशनमा प्रशिक्षार्थीहरुले भाग लिएको गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए । उनले प्रशिक्षार्थीहरुका लागि गर्ने तरिकाको बारेमा अभ्यास र कक्षा संचालन गरिएको जानकारी दिए ।
बिहीवार बिहान ११ बजे अरिदमन गणमा प्रवेश गरेका प्रशिक्षार्र्थीहरुलाई गणपति बस्न्यातले स्वागत गरेका थिए । गत भदौ महिनादेखि झापाका तीनवटा विद्यालयमा एनसीसी सिनियर डिभिजन तालिम संचालन भइरहेको छ । झापा मोडेल स्कुल, धुलाबारी मावि र जनता माविका १८ छात्र र १८ जना छात्राका दरले जम्मा १०८ जना विद्यार्थी तालिममा सहभागी छन् । नेपाली सेनाले सिनियर र जुनियर गरि दुईवटा डिभिजन छुट्याएर तालिम दिँदै आएको छ । यसअघि अरिदमन गणले जिल्लाका सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालयमा सिनियर डिभिजन तालिम सम्पन्न गरेको थियो ।
एक सय दिनको एनसीसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा मोरङको याङशिलास्थित राष्ट्रिय सेवा दलको पूर्वी तालिम शिक्षालयमा हुने अरिदमन गणका गणपति बस्न्यातले जानकारी दिएका छन् ।