भद्रपुर ।
रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले आज हिमाली मावि भद्रपुरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।प्रतिष्ठानले आज विद्यालय परिसरमा शैक्षिक सहयोग कार्यक्रम अन्तरगत यहाँका एक सय विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको हो । कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, भद्रपुर वडा नं. १ का अध्यक्ष रामप्रसाद अधिकारी लगायतले विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेका हुन् । यो विद्यार्थी ट्रयाक सुट पाएपछि खुसी देखिन्थे ।
प्रमुख अतिथि नगर प्रमुख पोखरेलले नगरले सबैको सहयोग र सहकार्यमा नगरको शिक्षा क्षेत्रको स्तरबृद्धिमा गरिरहेको बताउनुभयो । ‘नगरले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ’, उनले भने ‘नगरको एक्लो प्रयासले मात्र सबै काम सम्भव छैन, यसमा सबैको सहयोग महत्वपूर्ण छ ।’ भद्रपुरलाई प्राथमिकतामा राखेर आफ्नो गतिविधि गर्दै आएकोमा उनले प्रतिष्ठानलाई धन्यवाद समेत दिए।
विशेष अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले नगरपालिकाले नगरको शैक्षिक उन्नयनमा काम गरिरहेको बताए। उनले मेहनती र असल विद्यार्थीहरुलाई सानो सहयोगले पनि थप उपलब्धि हासिल गर्न मद्दत मिल्ने बताउँदै न्यानो कपडा वितरण कार्यको प्रसंशासमेत गरे । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओली (गोपाल) ले विपन्न बालबालिकालाई शिक्षामा सहयोग गर्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बताए ।
कार्यक्रममा छिमेकी बचत तथा ऋण सहकारी संस्था झिलझिलेका अध्यक्ष मोहनप्रसाद मैनाली, सहकारीका कार्यकारी निर्देशक एवम् प्रतिष्ठानका सदस्य नवीन ओली, सहकारी सञ्चालक सदस्य पर्शुराम ढुंगाना, प्रतिष्ठानका सदस्य नारदमणि न्यौपाने, प्रतिष्ठानका सदस्य यादवकुमार ओली, प्रतिष्ठानका सदस्य अनिरुद्र ओली लगायतले समेत विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेका थिए ।
कार्यक्रममा विद्यालयको तर्फबाट प्रतिष्ठानलाई धन्यवाद पत्र समेत प्रदान गरियो । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नविनकुमार भट्टराई र प्रधानाध्यापक दीपक दाहालले प्रतिष्ठानले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग गरेर विद्यार्थीलाई हौसला प्रदान गर्न आग्रह गरेका थिए ।
प्रतिष्ठानका कार्यसमिति सदस्य एवम् शैक्षिक सहयोग कार्यक्रमका संयोजक उमेशचन्द्र ओलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार विनोद सापकोटाले गरेका थिए । अध्यक्ष ओलीले प्रतिष्ठानले एक करोड रुपैयाँ अक्षयकोष स्थापना गरेर समाज रुपान्तरणमा योगदान पु¥याउनेहरुलाई सम्मान सँगै विभिन्न सामाजिक कार्य गर्दै आएको बताए।
छिमेकी बचत तथा ऋण सहकारी संस्था झिलझिले झापाको सहकार्यमा प्रतिष्ठानले शिवसताक्षी नगरपालिकाका तीन वटा सामुदायिक विद्यालयका २२३ जना विद्यार्थीलाई र प्रतिष्ठानले एक्लैले ३०१ जना विद्यार्थीलाई गरी ५२४ वटा ट्रयाक सुट वितरण गरेको छ ।
त्यसैगरी, प्रतिष्ठानका संस्थापक कार्यकारी सदस्य तुलसादेवी ओलीले जिल्लाका तीन वटा अपाङ्ग, सुस्तश्रवण संस्थाका ४१ जना विद्यार्थीलाई ट्रयाक सुट र ती संस्थालाई खाद्यान्न प्रदान गरिने भएको कोषाध्यक्ष ओलीले जानकारी दिए। भोलि सोमबार प्रतिष्ठानले शिवसताक्षीधामको शताक्षी गोलोक गोबद्र्धन धार्मिक संस्थाको अक्षयकोषलाई एक लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष यज्ञराज ओलीले जानकारी दिए।