विराटनगर।
जापान काण्डमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन्। उनलाई आइतबार दिउँसो विराटनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि उनलाई आजै काठमाडौं पठाउने तयारी रहेको बताइएको छ। जापान काण्डमा मुछिएपछि अधिकारीलाई एमालेले मन्त्रीबाट राजीनामा गराउनुका साथै पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो। कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ ।
मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य तीन जना व्यक्ति पनि जापान गएका थिए । तर, जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।