काठमाडौं।

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सतापक्षलाई प्रश्नै प्रश्न गरेका छन् । काठमाडौंमा आज (शनिवार) आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले सत्तापक्षलाई भष्ट्राचार र ठगीका बिषयमा प्रश्नै प्रश्न गरेका हुन् । 

अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरुलाई अनुसन्धानमा नल्याएकोमा बिरोध गरेका छन् । 

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन उनले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरुलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताएका छन् । 

आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचिमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्यसंयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने  ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस, निर्दोष कोही पनि नपरोस् ।’ कतिपयले आजको खबरदारी सभालाई रवि लामिछानेलाई बचाउने सभाको रुपमा गलत ब्याख्या गरेको उल्लेख गर्दै उहाँले दोषी सबै सजायको भागिदार हुनुपर्ने तर सरकारले सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारवाही गर्ने प्रवृत्तिको बिरोध गरेको बताए । उनले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सैह्य नहुने बताएका छन् । 

  • प्रचण्डको प्रश्न– भूटानी शरणार्थी काण्ड कहाँ पुग्यो ? 

 ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरेका छन् । 

उनले नक्कली भूटानी शरणार्थी बाँसबारी, गिरिबन्धु, बालमन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उनले भने  ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किन भने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’

आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले आफूलाई सच्याउन आग्रह गरे । ‘नत्र संसद र सडकमा तपाइहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन’– अध्यक्ष प्रचण्डले भने ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महंगो पर्ने छ।’

यो देश कांग्रेस एमालेको विर्ता नभएको उल्लेख गर्दै उनले संख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भनने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गरे । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन ?’ अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भने  ‘संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरुसँग जवाफ, धेरै अभदै भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ ।’

सरकारले ७० नम्बर ल्याएकोमा प्रचार गरेकोप्रति प्रश्न गर्दै उनले भने  ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर ? मैले निरन्तर भन्दै आएको छु– संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास। आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो ।’ पहिले एक्लै पार्टीको दुई तिहाई भएको बेलामा संसद भंग गरेर प्रतिगमन गर्ने नेताले अहिले दुई तिहाईको घडण्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उनको टिप्पणी थियो ।

  • दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड 

 ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन् । सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनस्र्थापनामा लापर्वाही नगरोस् भनेर खबदारी गरे । यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैले पुष्टि गरेको बताए। 

आफूहरुले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उनले भने  ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उहाँले बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए।

भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएको बताए । अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताए।

  • नेपालमा माओवादीले थालेको सुशासनको रेडर्क कसैले मेटाउन सक्ने छैनः

 ‘प्रचण्ड’ले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेडर्क बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताए।उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड बनाएको बताए।

अध्यक्ष प्रचण्डले नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ गरेपछि अत्तालिएर सरकार ढालिएको उल्लेख गर्दै अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउनकै लागि बनेको बताए । 

उनले चार दिनको तयारीले गरेको खबरदार सभाले सरकार तर्सेको उल्लेख गर्दै भोलि ठूलै बिरोधसभाको तयारी गरे सरकारको हालत के होला भनेर प्रश्न गरे  । उनले आफूहरुले जनताका मुद्दालाई ज्ञापनपत्रको रुपमा प्रस्तुत गरिएको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक नलिए आन्दोल चर्कदै जाने बताए।

बाढीपहिरो पीडितलाई राहत, उद्धार र पुनर्स्थापना गर्ने तथा आफूहरुले थालेको सुशासनको अभियान, उर्जा क्षेत्रमा गरेको क्रान्ति, शैक्षिक क्षेत्रमा लागु गरेको मेरिटोक्रेसी आदि कामलाई सरकारले अगाडि बढाएन भने आन्दोलन अघि बढाउने चेतनावी दिए।

अहिले देशका दलाल, भ्रष्ट र बिचौलियाहरुलाई माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्ड ठूलो त्रासको रुपमा देखिन थालेको र जनतालाई फेरि एकपटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको हकअधिकारका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे 

  • अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौंः 

 ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन् । विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताएका छन् ।

माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने बताए । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उनले भने  ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिंदै साथ दिने छन् ।’ 

उनले अब आफूहरुले बन्दुक बाँड्नु छैन, जनता छोराछोरीलाई उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बताए । उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौं युवाहरुलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताए । आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उनले बताए । 

  • ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने हल्लाको प्रचण्डद्वारा खण्डन

अध्यक्ष  ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गरेका छन् । पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताए।

‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन’अध्यक्ष प्रचण्डले भने  ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’