काठमाडौं ।

 विपक्षी दलहरूले बाढी पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनस्र्थापना र पुनर्निर्माणमा लाग्न सरकारसँग माग गर्ने भएका छन् । 

प्रभावितलाई राहत, पुनर्स्थापना, पुनर्निर्माणको विषय समेटेर प्रधानमन्त्री केपी ओलीलाई प्रमुख प्रतिपक्ष दल माओवादी, प्रतिपक्ष दलहरू रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले सोमबार ज्ञापनपत्र बुझाउन लागेका हुन् । 

माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदलले ज्ञापनपत्रको मस्यौदा टुंग्याएको छ । 

विज्ञले वेलैमा सचेत गराउँदा पनि सरकारको लापरबाहीले जनधनको ठुलो क्षति भएको निष्कर्षसहित विपक्षी दलहरूले पीडितलाई तत्काल राहत उपलब्ध गराउन ज्ञापनपत्र बुझाउन चाहेका हुन् ।  पुनस्र्थापना र पुनर्निर्माणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन सुझाव दिने तर ज्ञापनपत्रको विषय सुनुवाइ नभए संसद्को विशेष अधिवेशन माग गर्ने विपक्षी दलको तयारी छ। 

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको तयारी छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत शुक्रबार बसेको विपक्षी दलहरूको बैठकले सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कार्यदलले ज्ञापनपत्रमा समेट्ने विषयको मस्यौदा टुंग्याएको छ ।