काठमाडौं ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टिमले पार्टी कार्यालयबाट पक्राउ गरेको हो । 

पक्राउ अघि रास्वपा कार्यालय अगाडी उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दाबि गरेका छन् । उनले राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर आफुलाई पक्राउ गरेको बताउँदै आफ्ना कार्यकर्तालाई राज्यको यो कदमको डटेर सामना गर्न अपिल गरेका थिए । 

लामिछानेले आफुले न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका थिए । छोटो सम्बोधनपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउको क्रममा पार्टी कार्यालय उपस्थित रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका थिए । प्रहरीले लामिछानेलाई आजै सडकको बाटो हुदै पोखरा लैजाने भएको छ । 

लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान गर्न अदालतबाट लिएको अनुमतिमा सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न भनिएको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ । 

पत्रमा सहकारी ऐनले परिभाह्सित ठगी तथा संगठित अपराध सम्बन्धि विषयमा अनुसान्धानको सिलसिलमा पक्राउ गर्न अदालतले अनुमति दिएको उल्लेख छ ।