बिर्तामोड । 

साहित्य चौतारी बिर्तामोड झापा नेपालले संस्थामा आवद्ध दिवङ्गत सर्जकहरुको स्मरण गर्दै उनीहरुमध्ये संस्थामा आवद्ध  पाँच जना दिवङ्गत सर्जकहरुको धर्मपत्नीलाई सम्मान गरेको छ । पितृपर्बको अन्तिम दिनको अवसर पारेर संस्थासँग आवद्ध दिवंगत पितृपरमेश्वरहरूप्रति सामुहिक श्रद्धाञ्जलि अर्पण गर्दै  उनीहरूको सिर्जना प्रस्तुत गरी उनीहरुमध्ये  पाँच जना सर्जकका धर्मपत्नीलाई सम्मान गरिएको हो ।

संस्थाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा संस्थाका मानर्थ सल्लाहकार लोकनाथ पौड्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रममा संयोजक संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठले स्वागत गरेकी थिइन् । 

कार्यक्रममा संस्थाका २०६४ सालको वार्षिकोत्सवका प्रमुख अतिथि तथा स्मृतिपात्र भीमबहादुर श्रेष्ठका जीवनी लेखक शिक्षासेवी शिवप्रसाद दहालकी धर्मपत्नी सूर्यप्रभा चौहान दाहाल, दक्षिणारहित सामुहिक सडक देउसीका प्रमुख अतिथि तथा संस्था संस्थापक परिवारका धार्मिक तथा आध्यात्मिक मार्गदर्शक अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य  पुष्पलाल  निरौलाकी धर्मपत्नी इन्द्रलक्ष्मी गुरागाँई निरौला, संस्थाका संस्थापक सल्लाहकार तथा पत्रकार  गोपीकृष्ण खनालकी धर्मपत्नी रुपादेवी सिग्देल खनाल, संस्था स्थापनाकालदेखि अभिभावक शिक्षासेवी तथा लोकगायक लव ओलीकी धर्मपत्नी दुर्गादेवी बस्नेत ओली र संस्थाका तत्कालिन सचिव, संस्थाको स्वागत गीतका रचयिता तथा मासिक सडक काव्यसभाका परिकल्पनाकार पत्रकार  डिकमान विरहीकी धर्मपत्नी पुर्णिमा सुनुवार मुखियालाई सम्मान गरिएको थियो ।

उनीहरुको सम्मान पत्र संस्थाका सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाले  इन्द्रलक्ष्मी गुरागाँई निरौलाको, सदस्य अनिरूद्र ओलीले  दुर्गादेवी बस्नेत ओलीको,  सदस्य बिनोद खनालले रुपादेवी सिग्देल खनालको   संस्थापक सचिव खिलप्रसाद शिवाकोटीले   पुर्णिमा सुनुवार मुखियाको बाचन गरेका थिए। उनीहरुलाई नगद, फलफूल र सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्था स्थापना २०५६ असार ३१ देखि  दिवङ्गत भएका कार्य समिति सदस्य, सल्लाहकार, निर्णायक, प्रमुख तथा विशेष अतिथि, अभिनन्दित , सम्मानित एवम्  पुरस्कृत पॉच दर्जनभन्दा बढी सर्जक हरूको स्मृतिमा उनीहरुको योगदानको कदर गर्दै रचनावाचनसहित दीप प्रज्वलन र मौनधारण गरी सामाुहिक श्रद्धाञ्जली अर्पण गरिएको थियो  ।

आफ्नो सिर्जनशील प्रतिभाका माध्यमबाट भाषा, कला, संगीत र परम्परा संस्कृतिको संरक्षणमा योगदान गर्ने सर्जकहरुको सम्मानमा उनीहरुको रचना वाचन, गायन तथा योगदानको चर्चा परिचर्चा गरिएको बताउँदै अध्यक्ष श्रेष्ठले साहित्य, संगीत र कलाको माध्यमबाट साहित्य चौतारीको श्रीवृद्धिमा प्रत्यक्ष परोक्ष योगदान गर्ने र अनरवत सेवामा समर्पित सर्जकहरुलाई सम्झने परम्पराका रुपमा यस्तो कार्य गरिएको बताए ।

उनले भाषा, कला, संगीत र संस्कृतिको संरक्षणमा योगदान गर्ने सर्जकहरुलाई यो अवस्थासम्म ल्याई पुर्याउन उनीहरुका धर्मपत्नीहरुको महत्वपूर्ण योगदान रहेकाले उक्त योगदानको कदर गर्दै सर्जकहरुका धर्मपत्नीहरुलाई सम्मान गरिएको बताए । कार्यक्रममा सम्मानितको तर्फबाट खनालकी धर्मपत्नी रुपादेवी सिग्देल खनाल, ओलीकी धर्मपत्नी दुर्गादेवी बस्नेत ओली र  निरौलाकी धर्मपत्नी इन्द्रलक्ष्मी गुरागाँई निरौलालगायतले साहित्य चौतारीले सम्मान गरेर स्रष्टाहरू प्रति सच्चा श्रद्धाञ्जलि अर्पण गरेको बताए।

कार्यक्रममा सल्लाहकार विनोद खनाल, साहित्यकार गोपीकृष्ण प्रसाई, सदस्य मीना अधिकारी, साहित्यकार लक्ष्मीअच्युत ढुङ्गानालगायतले दिवङ्गत सर्जकहरुको योगदानको चर्चा गर्दै उनीहरुका सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा संरक्षक श्रेष्ठले कर्मगुरु जेवी आले, साहित्य चौतारीका तत्कालीन सचिव डिकमान विरही, संगीत सिर्जना गुरु मदन दीपविम, राष्ट्रकवि माधवप्रसाद घिमिरे,  लोकगीत सम्राट एलपी जोशी,दान खालिङलगायतका विशिष्ट प्रतिभाको योगदानमाथि चर्चा गर्दै उनीहरुका सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी पौड्यालले साहित्य चौतारीले प्रिथक प्रकारले  पितृहरुको स्मरण  गरेको  र यो पहिलो कार्यक्रम  भएको बताए।

सोही कार्यक्रममा गत भदौ २९ गते ६० औं राष्ट्रिय वालदिवसको अवसरमा आयोजित बाल गायन प्रतियोगिताका विजयी प्रतियोगिलाई कदर पत्र प्रदान गरिएको थियो भने सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नौ जना वाल गायकहरुले गीत प्रस्तुत गरेकोमा उनीहरुमध्ये प्रथम  आकृति बिष्टं,द्वितिय आलिया अधिकारी,तृतिय प्रितिमा ढुङ्गेल, सान्त्वना रोहिका तिम्सिना भएको निर्णायक मंगलकलाकेन्द्रकी सञ्चालक निशु निरौलाले बताइन् ।

उनीहरुलाई वालदिवसका प्रमुख अतिथि वालगायक अर्पण सिटौलाले नगदपुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा वालदिवसको अवसरमा आयोजित बाल गायन प्रतियोगिताका सहभागीलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा गत बालदिवसका बिजेता प्रमुख अतिथिहरू रियाज  रिजाल, आलिया अधिकारी , यस बर्षका प्रमुख अतिथी अर्पण सिटौला ,यस बर्षका बाल गायन प्रतियोगिताकी प्रथम आकृति बिष्ट,सान्त्वना रोहिका तिम्सिनाले गीत प्रस्तुत गरेका थिए  भने मंगलकलाकेन्द्रका  आरोही दाहाल र कृतिका रिमालले दशैं झल्कने  नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए ।