झापा । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् । 

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अविरल बर्षासँगै आएको बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरेका हुन् । आज (आइतवार)  विहान १० बजे नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने बताइएको छ । 

बाढीपहिरो र डुबानमा परेर यो समाचार तयार गर्दासम्म एक सय जना जनाको मृत्यु भएको छ, भने ६७ जना बेपत्ता र विपद्मा परी एक सय एक जना घाइते भएका छन् । 

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको बताइएको छ ।