पहिलैदेखि नै दशनामीहरु दुई बगालमा थिए र छन् पनि । गिरी पुरी भारती वन उपाधि मिलो भनेर अझैपनि हामी माथि सन्यासीको भारी बोकाई रहेका छन् । थर उपाधि दशनामीको मात्र हैन अन्य जातिय समुदायको पनि मिलेको पाइन्छ । उदाहरणको लागि कसैको शाह थर सुन्दा ठकुरीको जात होला भनेर बुझिन्छ तर राउटेले पनि शाही र तराईका तेली मधेसी समुदायका मान्छेले पनि शाह लेख्छन् सुन्दा एउटै लागे पनि यर्थाथ त्यस्तो होइन । हाम्रो नेपाली वर्ण व्यावस्था व्याप्त समाजका अन्य थर जातको पनि म एक दुई वटा कुरा उठाउछु जस्तै राना, थापा, रेग्मी मगर र क्षेत्री बाहुन दुवैको थर हुन्छ । नेपालका जनजाति माझीको थर रायमाझी क्षेत्री थर सग पनि मिल्छ मैले यी जम्मै उदाहरण बहूजातिय, बहुभाषिक नेपाल राज्यको सास्कृतिक लेनदेनको यर्थाथलाई प्रष्टाउन मात्र प्रस्तुत गरेको हुँ ।
नवौ शताब्दीमा दक्षिण भारतका आदि जगतगुरु शंकराचार्यले धार्मिक विजयको यात्रा शूरु गर्दै मानसरोवर कैलाश आउँदा नेपालका आदिमबासी प्रकृतिक पूजक शैव संस्कृति मान्ने पश्चिम नेपालका रैथाने खसहरुलाई धर्म परिवर्तन गराई बैदिक हिन्दू धर्ममा दीक्षित गराएका थिए । हिमवत खण्ड पहाडी भूगोलमा बसोबास गर्ने नाक मोटो चुच्चो, कसिएका तिघ्रा, ठुला पाखुरा अाँखा, मझौला कद भएका पर्वते खसहरु कलान्तरमा आज सम्म आईपुग्दा कोही क्षेत्री, कोही ब्राहमण, कोही ठकुरी कोही दशनामी र कोही अझै खसकै रुपमा रहेका छन् । शंकराचार्यको शरणमा पुगि दीक्षित भएका दशनामीहरु गुरु जीवत रहदैको बेलामा नै दश थरको उपाधि लिएर दुई बगालमा छुटिएका थिए ।
एउटा समुह शंकराचार्यको आश्रममा परलौकिक ज्ञान र जीवन विताउन सन्यास कर्मको पालना गरि संसारिक बन्धनबाट मुक्त भएर केश मुण्डन, गेरु बस्त्र लगाई विभिन्न मठमा बसि पछि क्रमश अन्य धार्मिक तिर्थस्थलमा पनि भौतिक शरीरलाई कैद गरि बसेका हाल पनि हामी देख्छौ जस्तो देवघाट, पाशुपत क्षेत्र, चतरा आश्रम । लौकिक रीतिरिवाज,चालचलन, भेषभुषा, चाडबाड साथै समाज तथा परिवारबाट अलग भएका सन्यासीहरुको नाम पछाडी महाराज, आनन्द जस्ता सन्यास गुरुले दिएका विशेषत भगवानको नाम जोड्छन् तर, बहादुर कहिलै जोड्दैनन, सन्यासीको कुनै जात गोत्र केही हुदैन मृत्यु संस्कार नैै छुटै विधि विधानले चल्छ ।पितृको तिथि श्राद्ध हुदैन गदैनन्, घरबार नै छाडेपनि कुलपूजा देवाली गर्ने कुरौ भएन । धर्मको प्रचार गर्ने तपस्वी हुने यो समुह भनेको साधु सन्त महन्त हुन । अर्को समुह भनेको शंकराचार्यको चेला बनेर पुन गृहस्थी जीवनमा फर्केर सनातन धर्म संस्कृति मान्दै मुलुकको विभिन्न भुभागमा बसोबास गरि बस्ने खस दशनामी हुन् ।
यिनीहरु बहादुर, राज, प्रसाद, कुमार जस्ता न्वारनबाट ब्राहमण पण्डितले जुराएको नाम लेख्छन् । अवैदिक देवि देवता मष्ट पूजा, धामिझार्की, गोठधूप, कुलायन पूजा, नेपाली सस्कृतिका चाडपर्व मनाउछन् । सन्यासी र खस दशनामीको मेलो नै फरक छ सन्यासी जन्मदेैन उ बन्छ तर खस दशनामी जन्मन्छ । यसरी दशनामीको भगाले छुटेपनि नेपाली समाजमा अझै पनि काफि हद सम्म भ्रम र अन्यौल छदैछ । उ बेला ठकुरी पनि कुनै एउटा निश्चित जात नभएर मगर, खस, गुरुङ्ग जस्ता राजकूलका शक्तिशाली मान्छेहरुलाई ठकुरी मान्ने गरिन्थियो र भए पनि भन्ने विभिन्न समाजशास्त्रीहरुको तर्क रहेको पाइन्छ ।
नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज हैन खस आर्य समुदायमा उच्च जात मानिने बाह्रमण भित्र पनि उपाध्याय र जैसी, कुमाई र पूर्वीया वीच फरक र विभेद छ । त्यस्तै पहाडे समुदायको नजरबाट हेर्दा तराईमा बसोबास गर्ने रातावर्णका सबै मधेसी होला भन्ने भ्रम छ । तर मधेसमा मैथली ब्राहमण झा, यादव, थारु, जनजाती राजंबंशी, मुस्लिम, दलित बसोबास गर्दछन र त्यसैगरि बोलिने भाषा, पहिरिने भेषभूषा, र अन्य सामाजिक रितिरिवाज र सामाजिक मान्यताहरु प्नि फरक पाईन्छ ।
एउटै जाति समुदायको मानिस भएता पनि बसाई सराईको शिलशिलामा विभिन्न ठाँउमा बसोबास गर्दै जादा केही चलन रिवाजहरुमा भिन्नता देखिएको पाइन्छ जस्तो बस्नेत थर भएका क्षेत्रीहरु रातघरे र सेताघरे भनेर घरको रङको आधारबाट पनि फरक छुटिएका छन । हिन्दू धर्म मान्ने भएता पनि मुडुला कार्कीहरुले लक्ष्मीपुजामा गाई पुज्दैनन । त्यस्तै दशनामीमा पनि भारतीको घरमा तुलसाको मठ फाप्दैन भेनर तुलसा नरोपेको पाइन्छ ।
बेदमा खस जातिको चर्चा गरिएको छ र महाभारत युद्धमा समेत यो जातिको प्रसङ आउछ । त्यतिबेला ऋषि महर्षिहरु आर्य संस्कृति अन्तर्गत बनेका थर नलेखेर नाम मात्र लेख्ने गरेको पनि पाइन्छ कपिल, पतञ्जली, भारद्घवज, व्यास, परासर आदि । आ–आफ्नो वंश परम्परा पूर्खा सम्बन्धि मान्यता एवं विश्वास र जीवन दृष्टिकोणहरु छन । थर भनेको वास्तवमा निश्चित व्यक्तिको परिचय पनि हो । हिन्दू धर्मका विभिन्न थरहरु भित्र गोत्र पनि बाडिएका छन उनीहरु आफू ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछन । गोत्र कुल छुट्याउने एउटा भरपर्दो माध्यम हो । गोत्र शब्दले प्रचिन पुरुषको अविरल वंश परम्परालाई जनाउछ । अझै पनि पावै खसहरुले जनै धारण गरेका छैनन खसबाट क्षेत्री, बाहुन, ठकुरी बनेकाले पनि संवत ६०० तिर मात्र जनै धारण गरेको हुन् । जनैको बन्दुकले बाह्रमण पण्डितले हामी माथि जातिपाति विभेदको गोली हानी रहेका छन । राष्ट्रिय समावेशी आयोगले समेत कहिले सन्यासी कहिले दशनामी मात्र लेखेर खस दशनामी समाजलाई घरको न घाटको बनाएको पाइन्छ । हेपेको जिस्काएको जस्तो महसुस भएर होला शब्द र उपाधिले समेत कति आत्म सम्मानमा चोट पुग्छ भन्ने कुरा पछिल्लो समय यहि मिति २०८१ साल जेष्ठ २१ गते बैतडी जिल्ला प्रशासन कार्यालयमा माल थर भएका क्षेत्रीहरुले थर परिवर्तको लागि सामुहिक निवेदन दिएको उदाहरण हेरौ । यस भन्दा अगाडि पनि थर परिवर्तन नभएका हैनन हालका मेचे, राजवंशी, सन्थाल, हरिजन, परियार, मिजार, प्रजा, जि.सी आदिको पहिलेको थर उपाधि अर्कै थियो ।
संयुक्त राष्ट्र संघले समेत मान्यता दिएको जातीय पहिचानका पाँच आधारहरु साझा भाषा, साझा संस्कृति, साझा उत्पति(वंश), साझा धर्म र भौगोलिक सम्बन्धको आधारमा विचार गरेर विभिन्न जातीय समुहलाई विभाजन गरिने भएता पनि उम्दा अध्ययेता मानव तथा समाजशास्त्रीहरुले समेत नेपालको सांस्कृतिक विविधताको थान्को लगाउन नसकेको हाम्रो सामाजिक मूल्या मान्यता परम्पराको सबैले आत्मसमान र सहअस्तिव्को सम्मान र स्वीकार गरौ । इति ।
लेखक नेपाल दशनामी समाज कोशी प्रदेशका सह–सचिव एवम् भारती बन्धु एकता समाज नेपालका केन्द्रिय अध्यक्षसमेत हुन् ।