बिर्तामोड । 

नेपाली फिल्म ‘बिक्रम देवा’ को झापा बिर्तामोडमा प्रिमियर शो हुने भएको छ । ‘बिक्रम देवा’ को असोज १४ गते बिर्तामोडमा प्रिमियर शो हुन लागेको हो ।   चलचित्र निर्माण टोलीले आज (बिहीवार) बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर प्रिमियर शोका बिषयमा जानकारी दिएको हो । 

लोपउन्मोख मेचे जाती तथा समुदायको धर्म संस्कृतिलाई उजागर गर्ने उदेश्यले झापामै पहिलो पटक ठूलो पर्दामा चलचित्र बिक्रम देवा निर्माण गरिएको निर्माता प्रचाप मेचेले बताए । 

चलचित्र बिक्रम देवामा ३० प्रतिशत मेचे भाषा, धर्म, संस्कार, रितिरिवाज समेटीएको र ७० प्रतिशत नेपाली धर्म संस्कृति रहेको अर्का निर्माता अर्जुन मेचेले बताएका छन् । कुमार केसीको निर्देशनमा निर्माण सम्पन्न गरेको बिक्रम देवामा सुवास मेचे, प्रताप मेचे, सुनिल थापा, पुकार भट्टराई, उर्मिला कार्की, भावना मगर, सकिला गुरुङ, बिपिन प्रसाई, रोहन सेन्चुरी, रबिन मेचे, सत्यम मेचे, टेकराज बिक, अमर मेचेलगायत कालाकारहरुको अभिनय रहेको छ । 

जय भोले बाबा फिल्सको प्रोडक्शन रहेको चलचित्र बिक्रम देवामा उपनिर्देशक निशानजेन तामाङ, कोरियाग्राफी कमल राई, एक्शन निर्देशक सन्तोष भुजेलको रहेको छ । बिक्रम देवा चलचित्र एक करोड २० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । 

चलचित्र इलाम र झापाका बिभिन्न पर्यटकीय तथा रमणीय स्थलहरुमा छायङ्कन गरिएको बताइएको छ । पत्रकार सम्मेलनमै चलचित्र बिक्रम देवाको पोस्टरसमेत सार्वजनिक गरिएको थियो ।