बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आज नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका एक एक जना गरि तीन जना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१ को अवसरमा पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरुमा माध्यमिक तहबाट महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक तुलसीराम खरेल, निम्न माध्यमिक तहबाट विरअमरसिंह माध्यमिक विद्यालयका शिक्षक हेमकुमार उप्रेती र प्राथमिक तहबाट जनता प्राथमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद गौतम रहेका छन् ।
आवेदन परेका विभिन्न १७ वटा निवेदनमाथि २० वटा सूचकको आधारमा उत्कृष्ट शिक्षक छनोट गरिएको समितिका संयोजक पूर्व उपसचिब युवराज पाण्डेले जानकारी दिए । ३ सदस्यीय छनोट समितिमा पाण्डेसहित डम्बर बस्नेत र दिनेश आचार्य रहेका थिए ।
संयोजक पाण्डेका अनुसार एक सय पुर्णाङ्कमा खरेल र उप्रेतीले ६८ प्रतिशत र गौतमले ६१।५ प्रतिशत नम्बर प्राप्त गर्नु भएको थियो । शिक्षकहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जनहि नगद ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिक्षकको मनोवल उच्च बनाउनका लागि यो पुरस्कार तथा सम्मानको व्यवस्था गरिएको बताइन् । उनले आगामी वर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताइन् । यस्तै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पुरानो पाठ्यक्रम परिवर्तन गर्नु पर्ने भन्दै जीवनउपयोगी र प्राविधिक शिक्षा आजको आवश्यकता रहेकोमा जोड दिए।
कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य, विभिन्न शिक्षक संगठनका प्रतिनिधि तथा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।