बिर्तामोड । 

झापा जिल्ला बुद्धशान्ति वाईसीएल संयोजक पङ्कज शेर्पामाथि आइतबार भएको आक्रमणको घटनाप्रति वाइसीएल नेपाल जिल्ला समिति झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक विज्ञप्ति जारी गरी मेचीनगर १२ घर भएका बालकुमार विष्ट र नविन विष्टले घरेलु हातहतियारसहित शेर्पामाथि आक्रमण गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । 

मेची राजमार्ग सडक खण्ड अन्तर्गत मेचिनगर १२ स्थित सहरेडाँगी उत्तर सडकमा हातहतियार सहित विष्टद्वयले शेर्पालाई आक्रमण गरेको वाइसीएल नेपाल झापाले जनाएको छ । 

‘मेची राजमार्ग अन्तर्गत चारआली इलाम सडक खण्ड अन्तर्गतको सहरेडाँगी उत्तर सडकमा हाम्रो पाटीका श्रदेय अध्यक्ष क। प्रचण्ड आउने कार्यक्रममा सहभागी हुन जाने  क्रममा ट्याक्सी चालकले अनियन्त्रित ढङगले सवारी चलाएको र सो सवारी चालकलाई सवारी रोक्न लगाई सम्झाईबुझाई गरेसँगै घटना मिलेको अवस्थामा निजहरु बालकुमार विष्ट र नबिन विष्टले एक्कासी घरलु हातहतियार, बाईकको हेल्मेटले अन्धाधुन्ध प्रहार गरी आक्रमण गरेको, जुन कुनै संस्थागत विषय भएको भए बसेर संवाद र छलफल द्वारा निकास निकाल्न सकिने अवस्थालाई नजरअन्दाज गर्दै यसरी आक्रमण गरिनु निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ । 

‘हाम्रो संगठन अन्याय, अत्याचार एव गुण्डाराज अन्त्यको विरुद्धमा लडेर स्थापित हुनुको साथै हाम्रा संगठनका सहयोद्धाको संरक्षण गर्न सक्षम रहेको सर्वविद्धित छ,’ विज्ञप्तिमा उल्लेख छ । 

वाइसीएलले घटनामा संलग्नलाई पक्राउ गरी सत्यतथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीको मागसमेत गरेको छ ।