विर्तामोड।
नेपाली कांग्रेस झापाले आधुनिक नेपालका परिकल्पनाकार, नेपाली कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती समारोह गाउँ नगरस्तरमा मनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेको अध्यक्षतामा आज (मंगलबार) जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकले झापाका १५ वटै गाउँ÷नगर समितिको आयोजनामा रचनात्मक कार्यक्रमका साथ १११ औं विपी जयन्ती मनाउने निर्णय गरेको हो ।
उक्त अवसरमा वीपी कोइरालाले प्रतिपादन गरको प्रजातान्त्रिक समाजवादी दर्शनमाथि चर्चा–परिचर्चा, रक्तदान, बृक्षरोपण, प्रजातान्त्रिक अगुवाहरुको सम्मान, बक्तृत्वकला, हाजिरीजवाफ, विचार गोष्ठी, सरसफाई लगायतका विविध रचनात्मक गतिविधि गर्न गराउन पनि बैठकले आग्रह गरेको छ । सोही दिन भद्रपुरस्थित विपी कोइरालाको शालिकमा विहान ८ बजे माल्यापर्ण एवं विचार गोष्ठी कार्यक्रम पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आयोजना गरिने भएको छ ।
बैठकले नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा जेल, नेल, यातना भोगेका, सर्वश्वहरणमा परेका, प्रवास बस्न बाध्य पारिएका शहीद परिवार, प्रजातन्त्र सेनानी र तिनका परिवारलाई संगठित गर्ने उद्देश्यले भाद्र २५ गते जिल्ला पार्टी कार्यालयमा प्रजातन्त्र सेनानी संघको पाँचौं जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यसैगरी नेपाली महिलाहरुको मुख्य चाड हरितालिका तीजलाई मितब्ययी तरिकाले मनाउन सबैमा अपिल गर्दै पार्टीको तर्फबाट शुभकामना ब्यक्त गर्ने निर्णय बैठकले गरेको सहसचिव कमल भण्डारीले जानकारी दिए ।
यसैबीच भाद्र पहिलो साता नेपाल महिला संघको आयोजनामा झापाका पाँचवटै क्षेत्रमा सम्पन्न क्षेत्रस्तरीय प्रशिक्षण प्रभावकारी भएको भन्दै बैठकले सम्पूर्ण महिला र प्रशिक्षण कार्यमा खटिनुभएका प्रशिक्षक, सहयोगी एवं सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।