चारपाने ।
सामुदायिक रुपमा सञ्चालित झापाको बिर्तामोड–२ चारपानेस्थित बेलडाँगीमा बहुप्राविधिक शिक्षालयमा चारवटा प्राविधिक बिषयहरु अध्यापन हुँदै आएको छ ।
सीटिइभिटीसँगको साझेदारीमा नरबहादुर कर्माचार्य प्रतिष्ठान बहुप्राविधिक शिक्षालयमा बाली बिज्ञान, पशु बिज्ञान, बन बिज्ञान र होटल ब्वस्थापन बिषयमा अध्यापन हुँदै आएको छ ।
२०७७ सालमा स्थापना भएको उक्त प्राविधिक शिक्षालयबाट ७६ जना बिद्यार्थी पासआउट भइसकेका शिक्षालयका प्राचार्य प्रेमबहादुर सुब्वा ‘देशुसर’ ले जानकारी दिएका छन् । उनका अनुसार हाल चारवटै बिषयमा जम्मा एकसय ७९ जना बिद्यार्थी अध्ययनरत रहेका छन् ।
त्यसैगरी शिक्षालयमा होटल ब्यवस्थापन अन्तरगत स्वीस सरकारसँगको साझेदारीमा सञ्चालित २ बर्षे ‘एप्रिन्टिसीप कार्यक्रम’ मा २३ जना बिद्यार्थी अध्ययनरत रहेका छन् । यो कार्यक्रम अन्तरगत शिक्षार्थीले होटलमा १८ महिने तालिम लिनुपर्नेछ ।
ती शिक्षार्थीलाई होटलले नेपाल सरकारले एउटा लेबरलाई तोकेको ज्यालाको चारभागको एक भाग सेवासुबिधासहितको रकम दिनुपर्नेछ । उनीहरुलाई यातायात भाडा र पोशाकबापत स्वीस सरकारको सहयोगमा शिक्षालयले मासिक ५ हजार ५ सय रुपैयाँ दिदै आएको शिक्षालयका सह–प्राचार्य बिष्णुप्रसाद चुडालले जानकारी दिए ।
२ बर्षे ‘एप्रिन्टिसीप कार्यक्रम’ सहितका प्राबिधिक अन्य शिक्षणमा उत्पीडित, सीमान्तकृत, गरिब, जेहेन्दार, पिछडिएका बर्गलाई बिशेष प्राथमिकता दिइदै आएको उनले बताए ।
२ बिगाहाको क्षेत्रफलमा फैलिएको शिक्षालयमा तीन वटा भवन रहेका छन् भने सम्पूर्ण सेवासुबिधासहित शान्त वातारणमा न्यूनतम शुल्कमा बिद्यार्थीहरुलाई अध्यापन गराईदै आएको प्राचार्य देशुले बताए । शिक्षालयमा नियमित प्रशिक्षक ६ जना छन् भने तालिम प्राप्त ४० जना प्रशिक्षकले अध्यापन गराउँदै आएका प्राचार्य देशुको भनाई छ । त्यस्तै ५ जना कर्मचारीहरु रहेका छन् । शिक्षालयमा अध्ययन हुने बिषयहरुका प्रयोगशालाहरुसहित प्रयाप्त क्षेत्रफल रहेको छ । शिक्षालयले २० प्रतिशत छात्रबृत्ति समेत दिदै आएको बताइएको छ ।
शिक्षालय सञ्चालनका लागि करिव एक करोड २० लाख रुपैयाँ बार्षिक खर्च हुँदै आएको प्राचार्य देशुले जानकारी दिए । उनका अनुसार बिद्यार्थीको सेवा शुल्कबापत करिब ९० लाख जती संकलन हुने र अन्य नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सामाजिक संघसंस्थाको सहयोगमा सञ्चालन हुँदै आएको छ ।
स्थानीय सरकारले शिक्षालय सञ्चालनका लागि उपलब्ध गराउँदै आएको रकम समयमा प्राप्त नहुँदा र प्रयाप्त रुपमा आर्थिक जुटाउन नसक्दा समस्या हुने देखिन्छ । सामुदायिक रुपमा सञ्चालन हुँदै आएको प्राबिधिक शिक्षालयलाई स्थानीय सरकारले आर्थिक र भौतिकमा पूर्ण रुपले सहयोग गरे ‘सिपमुलक शिक्षा आजको आवश्यकता’ भन्ने नारा साकार हुने देखिन्छ ।