बिर्तामोड ।
झापाको मेचीनगर नगरपालिका बिरुद्ध स्थानीय राजनीतिक दलले आन्दोलन गर्ने भएका छन् । राजनीतिक टलहरुले संयुक्त रुपमा भदौ महिनाको पहिलो सातादेखि आन्दोलन गर्ने भएका हुन् । बुधवार ६ वटा स्थानीय राजनीतिक दलले एक छलफल गरी शान्तिपूर्ण आन्दोलन गर्ने तर गरेको जनाउँदै स्थानीय सवैलाई साथ र सहयोग गरिदिन अपिलसमेत गरेका छन् ।
नगरको विकास निर्माणलगायतका विकृति र भ्रष्टाचार तथा चरम अनियमितता भएको भन्दै राजनीतिक दलले गत साउन १८ गते राजनीतिक दलले ज्ञापनपत्र बुझाएको थियो ।
नगर क्षेत्रमा क्रियाशिल छ राजनैतिक पार्टीहरुको तर्फबाट मेचीनगरमा देखिएका विकृति, बिसंगती, भ्रष्टाचार अनियमितताको बिषयमा जानकारीसहित नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति इन्द्रबहादुर बुढाथोकी नेतृत्वमा २१ बुँदे ज्ञापनपत्र बुझाइएको थियो ।
राजनीति महत्वका योजना फेरबदल गरेको, जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय नहुँदा जनताले सास्ती भोग्नु परेको, पूर्व तयारीबिना नै लगाइएको ठेक्कापट्टामा अपारदर्शी लेनदेन भएको, नगर स्वास्थ्य अस्पताल, कृषि मण्डी, भ्यु–टावर, बहुजातीय सांस्कृतिक संग्रहालय लथालिंग र अलपत्र बनाएर राज्यको लगानीको दुरुपयोग गरेको, टोल विकास संस्था गठनदेखि उपभोक्ता समिति गठनमा अनियमितता भएको र सो को यथोचित सम्बोधन गरिनु पर्नेलगायका २१ बुँदे ज्ञापन पत्र नगर प्रमुखलाई बुझाएको भए उचित संबोधन नगरी वेवास्ता गरेको भन्दै शान्तिपूर्ण आदोलन गरिने बताइएको छ ।
नेपाली कांग्रेस, ने.क.पा. (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीले संयुक्त रुपमा आन्दोलन गर्ने जनाएका छन् ।