• धर्मेन्द्र मामा

गरामनी । 

रोटरी क्लब अफ डिल्ली बजार काठमाडौँ र रोटरी क्लब बिर्तामोडको संयुक्त आयोजनामा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ गरामनी स्थित दुर्गा माध्यमिक विद्यालयका १६४ जना विद्यार्थीहरूलाई स्कुल ब्यागका साथै शिक्षण सामग्रीहरू बितरण गरिएको छ।

विद्यालयमा शुक्रबार एक समारोहका बीच उक्त सामग्रीहरू प्रदान गरिएको हो। रोटरी क्लब डिल्लीबजारका प्रेसिडेन्ट सागर निधि तिवारीको अध्यक्षतामा भएको सामग्री वितरण समारोहमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । 

 रोटरी क्लब अफ डिल्लीबजारका भाइस प्रेसिडेन्ट युवराज रोकाको पहलमा उक्त सामग्री व्यवस्थापन गरिएको थियो। स्थानीय  रोटरी क्लब बिर्तामोड रोटरी क्लबले संयोजन गरेको सो कार्यक्रममा १६४ जना कक्षा ६ देखि कक्षा ८ सम्म अध्ययनरत बालबालिकाहरूको लागि प्रदान गरिएको हो। 

शैक्षिक सामग्री वितरण समारोहमा प्रमुख अतिथि बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रोलाले रोटरी क्लबले स्थानीय स्तरमा सञ्चालित सामुदायिक विद्यालयका विपन्न वर्गका विद्यार्थीहरूलाई स्कुल ब्याग सहितको शैक्षिक सामग्री प्रदान गरेर विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याएप्रति आभार व्यक्त गरेका थिए। साथै रोटरी क्लबले स्थानीय तहसँगको साझेदारीमा विलचेयर लगायतका सामग्रीहरू प्रदान गरेर सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताए।

रोटरी क्लब अफ डिल्लीबजारका प्रेसिडेन्ट सागरनिधि तिवारीले रोट्री क्लबले देशका विभिन्न स्थानहरूमा सामाजिक सेवाहरू गर्दै आएको र नेपालको पूर्वी क्षेत्रमा रहेको दुर्गा माध्यमिक विद्यालयलाई सानो सहयोग गर्न सकेकोमा खुसी व्यक्त गर्दै विद्यालयको आवश्यकता अनुसार खानेपानी शौचालय र साइकल पार्किङ साथै ग्राउन्ड पेबर्स गर्ने कार्यका लागि प्राथमिकता साथ काम गरिरहेको बताए। 

सोही कार्यक्रममा बिर्तामोड रोट्री क्लबका सदस्य रोटरियन एवं कञ्चनजङ्गा माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपाने र परिवारले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि एक थान वासिङ मेसिन र पाँचवटा सेतो छडी हस्तान्तरण गरेका थिए ।  न्यौपानेले गरामनी क्षेत्रमा रहेका अन्य सामुदायिक विद्यालयहरू देवकोटा आधारभूत विद्यालय जनता आधारभूत विद्यालय र लक्ष्मी आधारभूत विद्यालयलाई दुई दुई थान कम्प्युटर समेत प्रदान गरेका थिए । 

कार्यक्रममा रोटरी क्लब अफ डिल्लीबजारका तर्फबाट निवर्तमान अध्यक्ष सम्झना पोखरेल, उपाध्यक्ष युवराज रोका, कोषाध्यक्ष सन्ध्या राज भण्डारी, आगामी अध्यक्ष प्रेम ओली, सदस्य कृष्णराज दुलाल लगायतको उपस्थिति रहेको थियो । त्यस्तै रोटरी क्लब अफ बिर्तामोडको तर्फबाट एसिस्टेन्ट गभर्नर सुजन प्रधान विनोद बस्नेत उपाध्यक्ष पार्वता खरेल बिमली, पूर्व अध्यक्ष सुरेशवंशल, निवर्तमान अध्यक्ष बबिता गिरी, सदस्यहरू शैलेन्द्र गुरुङबाङ, सुमित्रा भट्टराई, नवीन घटानी, गुरुभक्त न्यौपाने, रोडट्र्याक क्लबका निवर्तमान अध्यक्ष बाप्पा शाह, सचिव कुशल अधिकारी, सदस्य रविन राजवंशीको समेत सहभागिता रहेको थियो। 

विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले स्वागत गगरेको समारोहमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, गुरुभक्त न्यौपाने, सागरनिधि तिवारी, सुरेश कुमार अग्रवाललगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा दृष्टिविहीन विद्यार्थीहरूले स्वागत गीत तथा सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक धर्मेन्द्र भट्टराईले गरेका थिए ।