सुरुङ्गा । 

 श्रेणीबिहीन कर्मचारीको भविश्यमाथि सरकारले बेवस्ता गरेको भन्दै सरकारी सवारी चालक एशोसिएशन नेपालले कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार  कार्कीलाई ध्यानाकर्षण गराएको छ । 

एशोसिएशन स्थापनासँगै सरकारी सवारी चालकहरुमा पर्ने दुःख सुखमा साथ र सहयोग गर्दै आएको संस्थाले उनीहरुका जायज मागलाई सम्बोधन गरिदिन आग्रह गर्दै मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका हो ।

तल्लो दर्जाका श्रेणीविहीन कर्मचारीहरुका लागि  सरकारले २०५७/५८ सालबाट विभेदकारी निर्णय गरेर लोकसेवा आयोगद्वारा स्थायी नियुक्ति नगर्ने निर्णय गरेको थियो । सोपछि मुलुकमा नयाँ संविधान निर्माण भई लागू भएपछि मुलुकमा संघीय लोकतान्त्रिक  गणतन्त्र स्थायित्वपछि पनि भुई कर्मचारीको भविष्यमाथि सरकारले बेवास्ता गरेकाप्रति एशोशिएशनले ध्यानाकर्षण गराएको हो । 

स्थानिय सरकारी सेवा गठन तथा सञ्चालन ऐन २०८० को परिच्छेद ३ को दफा १६ को उपदफा ‘ग’ को ३ मा समेत नयाँ संविधान आएपछि पनि नसमेटेको संस्थाको सल्लाहकार समितिका  संयोजक रोहित कोईरालाले बताए । 

ध्यानाकर्षण पत्र बुझाउन झापाका सम्पूर्ण सरकारी कार्यालयका  सरकारी सवारी चालकहरु  एक÷एक जनाको उपस्थिति साथै प्रदेशकै एक मात्र महिला एम्बुलेन्स चालकको समेत उपस्थिति रहेको थियो । 

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा एशोसिएशनका सल्लाहकार समितिका  संयोजक रोहित कोईराला, अध्यक्ष अध्यक्ष झट्टबहादुर खड्का, उपाध्यक्ष पवन राजवंशी, महासचिब खेमराज नेपाल, की कोषाध्यक्ष लीला वस्थाकोटी, सदस्य लीलित थापालगायतको सहभागीता थियो । 

सवारी चालकसहित श्रेणिविहिन कर्मचारीलाई जिम्मेवार र उनीहरुको भविष्यको सुरक्षाका लागि पनि सरकारले लोकसेवा प्रकृयाबाट स्थायी वनाउने कार्य गर्नु पर्नेमा उनीहरुको जोड छ । एशोशिएशनले बिगतदेखि नै सवारी दुर्घटनामा पर्ने, मृत्यु हुने सवारी चालकहरुका परिवारलाई खाद्यन्न, आर्थिक सहयोग गर्दै आएको छ ।