झापा ।
लागूऔषधसहित पक्राउ गरेर अनुसन्धान भइरहेका एक जना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका मेचीनगर नगरपालिका वडा नम्बर ७ पालिया टोलका २८ बर्षिय झकबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको हो ।
गत साउन १३ गते मेचीनगर–६ स्थित पुरानो मेचीपुलबाट लागूऔषधसहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा अनुसन्धानका क्रममा स्वास्थ्यमा असहज भएपछि आज बिहान राती १ः ४० बजेको समयमा अस्पताल भर्ना गरिएको थियो ।
आम्दा अस्पताल धुलाबारीमा उपचारका लागि भर्ना गरिएका खड्काको उपचारको क्रममा १ः५५ बजे डक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
खड्काको साथबाट खैरो हेरोइन ५ ग्राम बरामद गरी आवश्यक कानुन कारवाहीको लागि लागु औषध मुद्दामा झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप आवश्यक कानुनी प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।