झापा ।
जापानिज इन्सेफ्लाइटिस (जेई)को संक्रमणबाट पीडित बनेकी ६ वर्षीया बालिकाको उपचारका लागि आर्थिक अभाव भएपछि उनका परिवारले सहयोगको अपिल गरेका छन् ।
अर्जुनधारा १ निवासी देवेन्द्र बुर्जा मगरकी ६ वर्षीया छोरी एलिना बुर्जा मगरको उपचारका लागि सहयोगको अपिल गरिएको हो । गएको असोज ५ गतेदेखि एलिनामा उच्च ज्वरो देखा परेको थियो । बिर्तामोडको बिएन्डसी हस्पिटलमा जेई संक्रमण पुष्टि भइ ९ दिनसम्म पनि उपचार सम्भव नभएपछि उनका परिवारले भारतको सिलिगुडी लगेका छन् ।
सिलिगुडीको शान्ति नर्सिङ होमको भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी एलिनाको स्वास्थ्यमा केही सुधार देखिए पनि औषधोपचारका लागि थप रकम अभाव भएकाले विपन्न परिवारले सहयोग माग गरेको अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिए ।
एलिनाका काका टेकन बुर्जा मगरका अनुसार अहिलेसम्म ३० लाखभन्दा बढी रकम उपचारमा खर्च भइसकेको छ । अहिले पनि दैनिक ७० देखि ८० हजार भारतीय रुपैयाँ खर्च हुँदै आएको छ । लामो समयसम्म भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएकाले आर्थिक अभावकै कारण सबैसँग हारगुहार गर्न बाध्य भएको उनले बताए ।
यसैबीच, वडाको एक सर्वपक्षीय भेलाले एलिनाको उपचारका लागि सहयोग जुटाउने निर्णय गर्दै एलिना बुर्जा मगर बचाउन अभियान सञ्चालनमा ल्याइएको वडाध्यक्ष बस्नेतले जानकारी दिए ।
उनका अनुसार वडा सदस्य मदन लिमेल मगरको संयोजकत्वमा विजय सेन्दाङ, पदमबहादुर निरौला, सुवास राई, तिवेन्द्र काफ्ले, पदम गोले, विक्रम गोले, पवन खनाल, विशाल खड्का, कुमार बस्नेत, विकास लिम्बू, सन्त मगर, ढिंगबहादुर दर्लामी मगर सदस्य रहेको समिति गठन गरिएको छ ।
एलिनाको उपचारका लागि काकी गीतामाया सोराली मगरको नाममा नेपाल एसबीआई बैंकको खाता नम्बर १८२१५२४१४१७३९८ मा सहयोग गरिदिन देश विदेशमा रहेका सबैसँग अभियान समिति र परिवारले आग्रह गरेको छ ।
प्रतिक्रिया 0