काठमाडौं । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकको अधिकार खोस्न खोजिए सरकारविरुद्ध सशक्त रुपमा सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

संविधान संशोधनमार्फत कांग्रेस र एमालेले नागरिकको अधिकार खोस्ने प्रयास गर्न सक्ने सम्भावना रहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले त्यस्तो चेतावनी दिएका हुन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै  प्रचण्डले भने ‘फेरि सडकमा पलेटी कसेर जनदबाब सिर्जना गर्न बाध्य नपारियोस् ।’ दुई ठूला दलले थ्रेसहोल्ड बढाएर साना दलहरूलाई निस्तेज पार्न खोजेको जिकिर गर्दै उनले  त्यसविरुद्ध डटेर प्रतिकार गर्ने बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले आफूहरु एकै ठाउँमा रहेको सन्देश दिएका छन् । कांग्रेस र एमाले मिलेपछि प्रतिपक्ष कित्तामा हुत्तिएपछि पुष्पलालको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रममा उनीहरुले आफूहरु एकै ठाउँमा रहेका सन्देश दिएका हुन् ।

कार्यक्रममा उनीहरुले कांग्रेस–एमालेले संविधान संशोधनको कुरा ल्याएकोप्रति आपत्ति जनाए । दुई ठूला दल मिलेर जनताको प्राप्त उपलब्धि र अधिकार खोस्न खोजेको उनीहरुको निष्कर्ष थियो ।

 संविधान चलाउन खोजे सदनदेखि सडक चर्काउने अभिव्यक्ति दिँदै आएका नेताहरुले आफूहरु फेरि सडकमा बस्न तयार भएको अभिव्यक्ति दिएका हुन् ।