काठमाडौं ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भएपछि सरकारले विमान दुर्घटनाको शोकमा आज (बिहीवार) राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बुधवार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको छ । 

आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी रहनुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर ९एटीसी० अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहेका छन् ।

आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । यसैबीच ज्यान गुमाएकाको शव परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो । एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्नेछ संलग्न डा.ले जानकारी दिएका छन्।

अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत डाक्टरहरु बोलाइएको बताइएको छ ।