झापा। 

राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतवार) नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्ने भएका छन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने छन्  । 

राष्ट्रपति पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज (आइतवार) प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । योसँगै उनी ओली चौथो पटक प्रधानमन्त्री बन्दैछन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम ओलीलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्नेछन् । 

ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका थिए । राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज (आइतबार)  साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन्।  प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने सोमबार हुने भएको छ ।  कांग्रेस र एमाले मन्त्रालय भागबन्डा र मन्त्रीहरूको छनोटमा जोडतोडले लागेका छन् ।

साथै, मधेशकेन्द्रित पाँच दल जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी (नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई पनि भोलि नै सरकारमा सहभागी गराउने गरी कांग्रेस र एमालेबीच समझदारी भएको छ । 

कुल २१ मन्त्रालयमध्ये सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले ९ मन्त्रालय लिने समझदारी बनेको बताइएके छ । बाँकी चार मन्त्रालय मधेशकेन्द्रित दललाई छुट्याइएको छ ।