बिर्तामोड ।

 सन्थाल समुदायबाट एसइइमा हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका दुई जना बिद्यार्थीलाई झापाको बिर्तामोडको निदि सेकेन्डरी स्कुल÷इन्द्रेणी क्याम्पसले निःशुल्क पढाउने भएको छ । 

सन्थाल समुदायबाट छात्रतर्फ उत्कृष्ट नतिजा ल्याउने बाह्रदशीका टेकनाथ सोरेन र छात्रातर्फ एसइइ इतिहासकै उच्च अंक ल्याएकी झापा गौरीगञ्जकी पर्वती हस्दालाई निदिले कक्षा ११ र १२ सम्म निःशुल्क अध्यापन गराउने भएको हो । 

विद्यालयले अध्यापनमा कुनैपनि शीर्षकमा शुल्क नलिने विद्यालयका प्रिन्सिपल रञ्जीत शाहले जानकारी दिए । विज्ञान संकायमा शुक्रबार भर्ना भएका सोरेनलाई त्यो भन्दा माथिल्लो तहको अध्ययनमा समेत विद्यालयले सहयोग गर्ने प्रिन्सिपल शाहले जानकारी दिए । 

सोरेनको पढाइप्रतिको लगनशीलता तथा पारिवारिक आर्थिक अभावलाई ध्यान दिँदै उनको अध्ययनको व्यवस्था गरिएको प्रिन्सिपल शाहले शब्दपत्र अनलाइनलाई जानकारी दिए । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माविका सोरेनले सीमान्तकृत सन्थाल समुदायबाट एसइइकै इतिहासमा उच्च अंक ल्याएका थिए ।

२०६४ साउन ३० गते जन्मिएका सोरेनले एसइइमा ३.८२ जिपिए अंक ल्याएका छन् । सोरेनले प्राप्त गरेको अंक प्रतिशतमा बदल्दा ९५.५ प्रतिशत हुन्छ ।

अनुशासित, मेहनती र नियमित विद्यालय आउने विद्यार्थी बाह्रदशी–६ डाँगीबारीका सोरेनका बुवा राजिन्दर र आमा उषा सामान्य खेती र अर्काको दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् ।

त्यसैगरी सन्थाल समुदायबाट छात्रातर्फ एसइइ इतिहासकै उच्च अंक ल्याएकी झापा गौरीगञ्जकी पर्वती हस्दालाई पनि निदि माविले निःशुल्क पढाउने उद्घोष गरेको छ ।

 छात्रतर्फ उत्कृष्ट अंक ल्याएका बाह्रदशीका टेकनाथ सोरेनलाई निदि माध्यमिक विद्यालयले निःशुल्क पढाउने समाचार आएसँगै विद्यालयले हस्दालाई पनि पढाउने उद्घोष गरेको हो ।

विद्यालयका प्रिन्सिपल शाहले हस्दालाई उनको रोजाइको विषयमा कक्षा ११ र १२ सम्म निःशुल्क पढाउने जानकारी दिए ।  खजुरगाछी माविकी हस्दाले सबैभन्दा उत्कृष्ट अंक ल्याएकी छन् । उनले यस वर्षको एसइइमा ३.५१ जिपिए ल्याएकी छन् । उनी २०८० को एसइइमा गौरीगञ्जको सामुदायिक विद्यालयतर्फ सबैभन्दा उत्कृष्ट अंक ल्याउन ल्याउने विद्यार्थी पनि हुन् ।