झापा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रवार) प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज बिश्वासको मत लिने भएका हुन् । उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले गत असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठुला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन दलको मात्र ६३ सिट रहेको छ । कांग्रेस, एमाले, राप्रपासहितका अन्य साना दलहरू विपक्षमा उभिएकोले प्रचण्डले विश्वासको मत पाउने सम्भावना देखिएको छैन ।
प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्य कालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते, एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि २०७९ साल चैत ६ गते दोस्रो पटक, कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रो पटक २०८० साल फागुन ३० गते, जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०८१ साल जेठ ७ गते र आज गरेर उनले पाचौं पटक विश्वासको मत लिने भएका हुन् ।
संविधान अनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कुल दुई सय ७५ सदस्यीयको रहेको छ ।