झापा । 

झापासहित ७३ जिल्लामा डेंगु रोगको सङ्क्रमण फैलिएको छ । बर्षातको समयमा दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण बढ्न थालेको हो । 

७३ जिल्लाका एक हजार चार सय ३२ जनामा डेंगु सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण देखिएको शाखाले जानकारी दिएको हो । 

सबैभन्दा बढी काठमाडौँमा एक सय ५९ जनामा डेंगु देखिएको छ । झापामा एक सय २० र चितवनमा ८३ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ । रोग शाखाले डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । 

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन महाशाखाले जनाएको छ ।