बिर्तामोड ।  

नेपाली सेनाको चारआलीस्थित अरिदमन गणमा एकदिने स्वास्थ्य शिविर आज (बुधवार) सम्पन्न भएको छ ।  मेची आँखा अस्पताल सैनिकमोडको  प्राविधिक सहयोगमा  सेनाका अधिकृत र जवानहरुको आँखा जाँच गरिएको हो । 

मेची आँखा अस्पतालका युवराज बोहोरा, कविता कार्कीलगायतका स्वास्थ्यकर्मीहरुले आँखा जाँच गरेका थिए ।  त्यस्तै  झापाका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ  डा. रणधीर राजवंशीले नाक, कान, घाँटीसम्बन्धी स्वास्थ्य जाँच गरेका थिए । 

आँखामा २१२ र  नाक, कान, घाँटीमा ३० जना गरी  २४२ जनालाई स्वास्थ्य जाँच गरिएको  गणका गणपति प्राजु बस्न्यातले जानकारी दिए । उनले यस किसिमको सहकार्यमा नेपाली सेनाले  निकट भविष्यमा दुर्गम स्थानहरुको पहिचान गरी  निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको बताए ।