काठमाडौं ।

नेपाली कांग्रेससँग सहमति भएपछि नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । केहीबेरमै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाको भनाई छ ।

प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर भएको थियो । 

सहमती अनुसार शुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।

दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका थिए । राष्ट्रपतिसँग आवश्यक परामर्श सकेर नयाँ सरकार गठनको टुंगो लगाउने दुवै पार्टीको तयारी छ।