झापा ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (बिहीवार) सार्वजनिक गर्ने भएको छ । आज बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ । बोर्डका अनुसार नतिजा प्रकाशन अघि बोर्ड बैठक बोलाइएको छ।
नतिजा प्रकाशनमा कमी–कमजोरी हुन नदिन उत्तरपुस्तिकाको अंक रुजु, अंकलाई ग्रेडिङमा रुपान्तरण गर्नेलगायत काम सम्पन्न भइसकेको छ।
यस वर्षबाट नयाँ पाठ्यक्रमका आधारमा परीक्षा लिएकाले सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङमा पर्नेछन्। नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ ।
उक्त व्यवस्था अनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ। हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ। उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङमा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन।
गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए।