बिर्तामोड । 

झापाको विर्तामोड नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको समन्वय तथा  नगर स्तरीय सामाजिक अध्ययन बिषय समितिको आयोजनामा  एक दिने कार्यशाला आइतबार बिर्तामोडमा सम्पन्न भएको छ। विर्तामोड नगरका सस्थागत तथा सामुदायिक  बिद्यालयमा कार्यरत हाम्रो सेरोफेरो बिषय कक्षा १–३ मा अध्यापनरत  ४२ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागितामा कार्यशाला सञ्चालन भएको हो।

नगर स्तरीय सामाजिक बिषय समितिको संयोजक सरस्वती दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख उपसचिव तिलचन भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । 

नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल एवम महेन्द्र रत्न माबि बिर्तामोडका प्रधानाध्यापक खड्ग प्रसाद खरेल, सामाजिक बिषय बिज्ञ  तथा नगर स्तरीय बिषयगत संजाल  समन्वय समितिका सदस्य दीपक लुइटेलको आतिथ्य तथा नगर स्तरीय सामाजिक बिषय संजालका सदस्यहरुसमेतको उपस्थिति रहेको थियो । 

मोहनमाया माध्यमिक बिद्यालयकी शिक्षिका एवम सामाजिक बिषय  संजालको सदस्य  ममता कुमारी राजवशीद्वारा संचालित  कार्यशालामा प्रअ खड्गप्रसाद खरेल, महासंघ अध्यक्ष युवराज कट्टेल, शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले शुभकामना मन्तव्य राखेका थिए । 

बिषय बिज्ञ दीपक लुइटेल र  सरस्वती दाहालले सहजिकरण गरेको कार्यशालामा इन्द्र बास्कोटाको मनोरञ्जनात्मक प्रस्तुती रहेको थियो। कार्यशालामा सेरोफेरो बिषय अध्ययनका क्रममा भोगेका समस्या, अन्तरबिषयक बिषयको रुपमा रहेको सेरोफेरो बिषयको बिषयक्षेत्र, शिक्षण सहजिकरण प्रक्रिया, मुल्यांकन प्रक्रिया तथा अभिलेखिकरण प्रक्रियाका बारेमा गहन अन्तरक्रिया तथा छलफल भएको थियो।

बिर्तामोड नगरपालिकाको सिकाइ उपलब्धि सुधार गर्ने रणनीति अनुरुप विभिन्न बिषयगत समुहहरुको सक्रियतामा बिषयगत तालिम तथा कार्यशालाले तिब्रता लिएको छ। शिक्षकको गुणस्तर भन्दामाथि शिक्षाको गुणस्तर हुन सक्दैन भन्ने  अभिप्रायका साथ विर्तामोड नगरपालिकाले शिक्षकको पेशागत बिकासमा उल्लेखनिय कार्य गर्दै आएको छ।