शनिश्चरे । 

नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका समन्वय एवं सहजीकरण समितिले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन एवं विकास निर्माण क्षेत्रमा नगर स्तर र वडा स्तरमा बजेट विनियोजनको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।

समन्वय एवं सहजीकरण समितिका संयोजक रञ्जिता कार्कीको नेतृत्वमा गएको नेपाली कांग्रेसका नेता÷कार्यकर्ताको टोलीले नगर स्तरीय एवं वडास्तरीय योजनाहरु समेटेर बजेट विनियोजनको मागसहित ज्ञापनपत्र नगर प्रमुख बलदेव गोम्देनलाई बुझाएको हो । नगरपालिकाले नीति, योजना एवं बजेट बनाइरहेका बेला नेपाली कांग्रेसका तर्फबाट सहजीकरण समितिले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमार्फत नगरभित्रका सबै सामुदायिक विद्यालयमा कक्षा–१२ सम्म निःशुल्क शिक्षा र कृषि विषयको अध्ययन–अध्यापन, दलित, महिला, जनजाति, बालबालिका, सीमान्तकृत वर्ग लक्षित जीवनोपयोगी सिप सम्बन्धी तालिम, नगरभित्रका धार्मिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाको संरक्षण र स्तरोन्नति, कृषि क्षेत्रमा ‘जहाँ खेती, त्यहाँ विजुली’ कार्यक्रम सञ्चालन, कृषकहरुलाई अनुदान तथा कृषि वीमा, पशुको नश्ल सुधार र पशु वीमा, कृषिजन्य उत्पादनको मूल्य निर्धारण एवं बजार ब्यवस्थापन, अति विपन्न नागरिकहरुको पहिचान गरी समयसापेक्ष सिपमूलक तालिम एवं रोजगारीको सिर्जना गर्न माग गरिएको संयोजक कार्कीले जानकारी दिइन् ।

नेपाली कांग्रेस झापाले एकसाता अघि पार्टीका तर्फबाट नगर प्रमुख वा उपप्रमुखका विजयी जनप्रतिनिधि तथा उम्मेद्वारहरुको संयोजकत्वमा १५ वटै पालिकामा पालिकास्तरीय समन्वय एवं सहजीकरण समिति गठन गरेको थियो । 

नेपाली कांग्रेसका तर्फबाट अर्जुनधारा नगरपालिका नगरप्रमुखको उम्मेद्वार रहनुभएकी कार्कीको सयोजकत्वमा गठित ‘नेपाली कांग्रेस अर्जुनधारा नगर समन्वय एवं सहजीकरण समिति’का सदस्यहरुमा हेमराज खरेल, जीवनकुमार भण्डारी, भीष्म मिश्र, उपेन्द्र बस्नेत, गिताराज खड्का, पम्फा विश्वकर्मा, गंगाप्रसाद मैनाली, गोपीचन्द्र गौतम रहेका थिए ।