झापा ।

 पछिल्लो समय देभभर डेंगु संक्रमणको संख्या बढेको छ । देभको ७२ जिल्लामा डेंगु फैलिएको अन्य पाँच जिल्लामा भने अहिलेसम्म देखिएको छैन । 

हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । गत पुसको मध्यदेखि हालसम्म एक हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

 मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु नभेटिएको र हाल ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को पछिल्लो तथ्यांकमा उल्लेख  छ । 

बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कणालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौंमा १२२, झापामा १११, चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६ जनामा डेंगु संक्रमित भेटिएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम रहेको छ ।

इडीसीडीका अधिकारीहरुका अनुसार अघिल्लो वर्षमा भन्दा अहिले डेंगु फैलिने क्रम तीब्र छ । अगस्ट, सेष्टेम्बर, अक्टोबर महिनामा संक्रमण बढी फैलिने गरेको छ । त्यस कारण यस वर्ष डेंगु फैलिने समय आउन बाँकी नै छ । अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।