बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई उपचारबापत आर्थिक सहयोग गरेको छ । साकोसको बिशेष उपचार कोष अन्तरगत दुई जना सदस्यलाई २ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरिएको संस्थाका सचिव भूपाल बस्नेतले जानकारी दिए । 

साकोसको कचनाकवल गाउँपालिका–३ मा रहेको पथरिया सेवा केन्द्रमार्फत सदस्य हरिप्रसाद निरौलाकी ७ बर्षिया छोरी उपमा निरौलाको उपचारका लागि २ लाख एक हजार रुपैयाँ सहयोग गरिएको हो । उनको फोक्सोमा गम्भीर समस्या भएर हाल काठमाडौंमा उपचारका लागि गएको बताइएको छ । 

साथै कचनाकवल–६ बनियानीस्थित सेवा केन्द्रमार्फत सुत्केरी भएर गम्भीर बिरामी भएकी सदस्य कृष्णकुमारी गरागाईलाई ५६ हजार रुपैयाँ सहयोग गरिएको बताइएको छ । अर्का एकजनालाई पनि तीन हजार रुपैयाँ आर्थिक सहयोग गरिएको बताइएको छ । 

साकोसले हिजो (मंगलबार) उनीहरु दुवै जनालाई बिशेष उपचार कोषबापतको रकम हस्तान्तरण गरेको थियो । कचनाकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रसिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, संस्थाका सचिव भूपाल बस्नेतले उनीहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा  साकोस अन्तरगत पथरिया सेवा केन्द्रका प्रमुख चन्द्रकान्त पौडेल, अर्का सेवा केन्द्रका कार्यबाहक प्रमुख इन्दिरा ढुङ्गाना, सेवा केन्द्रका कर्मचारी, वडाध्यक्षहरु, स्थानीय सवै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको बताइएको छ । 

गापा अध्यक्ष कालेन्द्रसिंहले कर्णाली साकोसले गरेका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुले सदस्य, बिपन्न, अतिविपन्नलाई राहत मिलेको बताए । उनले साकोसको यस कार्य सवैका लागि बरदान सावित हुँदै गएको समेत बताएका थिए ।