अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित नयाँ बसपार्कको जग्गा सरकारी स्वामित्वमा नरहेको स्पष्ट पारेको छ । अर्जुनधारा नगरमा आज (मंगलबार) भएको छलफलले त्यस्तो निष्कर्ष निकालेको हो । कानुन व्यवसायी, सरोकारवाला, स्थानीय र सञ्चारकर्मी बीच भएको अन्तरक्रियाले बसपार्कको जग्गा सरकारी स्वामित्वमा नरहेको निचोड निकालेको हो ।
करिब एक महिनाअघि गिरीबन्धु टि–स्टेटभित्र उक्त जग्गा रहेको भनी कानुनले व्याख्या गरेर वडा नं. ११ को (५१ बिगाह जमिन) नयाँ बसपार्कका बासिन्दाहरुलाई त्रासदित बनाइरहेको बेला त्यसैलाई समातेर केही युट्युबर र मिडियाले समाचार लेखिदिएपछि आज यथार्थ के हो ? भन्दै अर्जुनधारा नगरपालिकामा छलफल भएको थियो ।
छलफल कार्यक्रममा बसपार्क समन्वय समितिको अध्यक्ष सुजन शिवाकोटीले तथ्य कुरा अर्कै भए पनि केही मिडियाहरुले हंगामा चलाइदिएर बसपार्कबासीहरुलाई आतंकित बनाइदिएको हुँदा तथ्य खोज्दै समाधानको बाटोमा जान नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुख खड्गमाया पराजुलीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।
बसपार्क समन्वय समितिका सहसचिव शिव पौडेलले ११४३ कित्ताभित्र चार सयभन्दा बढी घर बनिसकेको र केही व्यवसायीक कर्जा र शैक्षिक कर्जा लिएर प्रगति गर्ने बेलामा गिरीबन्धु टि–स्टेटको जग्गाको विषयमा बसपार्कलाई जोडेर गरेको हल्लाले बसपार्कबासीहरुलाई मर्कामा पारेको उल्लेख छ ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता टंक उप्रेतीले अदालतले जारी गरेको निर्णय पत्रमा बसपार्कलाई छोएको पाइदैन तथापी यथार्थमा पुग्न नगरले सम्बन्धित निकाय र यसै क्षेत्रका सांसद तथा सभामुख देवराज घिमिरेमार्फत प्रस्ट्याउन आवश्यक भएको बताए । नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सभामुख घिमिरेका स्वकीय सचिव केशव ढुंगेललगायतले उक्त बिषय सम्बन्धी आ–आफ्नो धारणा राखेका थिए ।
नगर प्रमुख बलदेवसिंह गोम्देनले मालपोत कार्यालय झापाका प्रमुख शेरबहादुर भण्डारीसँग फोन सम्पर्क गर्दा प्रमुख भण्डारीले सहजताका लागि आफू तयार रहेको बताएको नगर प्रमुख बलदेवले जानकारी दिएका थिए । कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङ्नामसहित सरोकारवालाहरुले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।