झापा । 

यस वर्षको मनसुन आगामी जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आंकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ । 

मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ आंकलन गरिएको भए पनि त्यसअघि नै भित्रिने देखिन्छ ।

हाल मुलुकका विभिन्न भू–भागमा भईरहेको वर्षा मनसुनी वायुको प्रभाव नभई स्थानीय प्रणाली, पश्चिमी वायु र उत्तर प्रदेश तथा बिहार आसपासको न्यून चापीय प्रणालीको प्रभाव भएको बिभागले जनाएको छ । नेपालमा सामान्यतया मनसुन सरदर अवधि जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ । तर, मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ । 

त्यस्तै आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी देखिएको छ ।

भारतको केरलामा निर्धारित मितिभन्दा दुई दिनअघि र आसाम तथा मेघालयमा छ दिनअघि नै मनसुन पुगेको देखिन्छ । यही विषयलाई आंकलन गर्दा भारतका भू–भागसँग सिमाना जोडिएको कोशी प्रदेशमा मनसुन निर्धारित मिति भन्दा एक साताअघि नै प्रवेश गर्ने आकलन गर्न सकिन्छ ।

गत वर्ष आसाम र सिक्किममा मनसुन  पुगेको तीन दिनमा कोशी, मधेस र गण्डकी प्रदेशमा पुगेको थियो । गतवर्ष आसाममा जुन १२ मा पुगेको मनसुन यो वर्ष मे ३१ मै पुगेको छ । त्यो गत वर्षभन्दा १२ दिन अगाडि हो । मनसुनी वायु थप सक्रिय  हुने वातावरण बनेको हुनाले कोशी प्रदेशमा आगामी तीनदेखि पाँच दिनमै मनसुन सक्रिय हुने अनुमान गर्न सकिन्छ ।