झापा । 

झापाबाट १२ लाख २५ हजार मूल्य बराबरको सुपारी पक्राउ परेको छ । मेचीनगर नगरपालिका वडा नम्वर ६ भट्टराईचौकबाट राजश्व छलेर नेपालमा उत्पादित सुपारी ओसार–पसार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले शुक्रवार (आज) पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय काँकरभीट्टाको प्रहरी टोलीले  भट्टराई चोकबाट प्रदेश १–०१–००१ च ७१२५ नम्वरको पिकअप बोलेरो गाडी ईटाभट्टाबाट काँकरभिट्टातर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा प्रहरीले सुपारी नियन्त्रणमा लिएको हो । 

 उक्त गाडीमा भिसिटिएस पान बिलमा १२ लाख २५हजार बरावरको  विल भएता पनि आधिकारीक भिसिटिएस अनलाईन बिल नभएको अवस्थामा ५३ वटा बोरामा नेपालमा उत्पादित उसिनेको सुपारी जम्मा २३७८ के.जी, गाडी, गाडी चालक बुद्धशान्ती–३ का ४१ बर्षिय युवराज उप्रेती समेतलाई  नियन्त्रणमा लिएर कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाईएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।