काठमाडौं । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  सरकार गणतन्त्रका लाभहरूलाई आम नागरिकमा पुर्‍याउन दृढतापूर्वक प्रयास गरिरहेको बताएका छन्।  गणतन्त्र दिवसको अवसरमा  देश विदेशमा  रहेका नेपाली दिदी बहिनी तथा दाजुभाइमा शुभकामना दिदै  प्रधानमन्त्री प्रचण्डले सो दृढता व्यक्त गरेका हुन्। 

प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्,  ‘नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधान सभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिन गणतन्त्र दिवसको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाइसहित शुभकामना व्यक्त गर्दछु।’

प्रधानमन्त्रीको शुभकामनामा उल्लेख छ, ‘गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा छ। यस व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्‍ट्र निर्माणका लागि दिशानिर्देश गरेको छ।‘ 

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत हो भन्दै प्रधानमन्त्रीले सवैमा गणतान्त्रिक जीवनशैली विकास भएको छ र नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताएका छन्। 

भनिएको छ, ‘वास्तविक रूपमा गणतन्त्र अरुका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि हो। अझ, त्यसभन्दा माथि सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयहरूमा स्वनिर्णयको अधिकार समेत हो। तसर्थ, यसका लाभहरूलाई आम नागरिकमा पुर्‍याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको छ।’

‘गणतन्त्र दिवसले हामीहरूलाई शहीदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न प्रेरित गरोस् भन्‍ने कामनाका साथ पुनः एकपटक गणतन्त्र दिवसको यस उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु, प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा उल्लेख छ । 

नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा मङ्गलबार राष्ट्रिय दिवस मनाइँदैछ ।  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले उनको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो ।